बिर्तामोड । भारतको तरञ्जुबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक टिम बुट्टाबारी युनाइटेड ‘एनी चौथो बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ।

आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेडले तरञ्जुबारीविरुद्ध संघर्षपूर्ण जित हात पारेको हो। बुट्टाबारीको जितका लागि खेलको ३० औँ मिनेटमा प्रदिप बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो।

buttabari goldcup 10

सौरव लिम्बुको लामो प्रहारलाई बुढाथोकीले हेडमार्फत गोलमा परिणत गरेका थिए। त्यसपछि लगातार दबाब सिर्जना गरेको तरञ्जुबारीले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको तरञ्जुबारीका खेलाडीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि बुट्टाबारी युनाइटेडका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाए।

खेलमा निर्णायक गोल गरेका बुढाथोकी म्यान अफ दि म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। आयोजक समितिका अध्यक्ष प्रविण राई र बिर्तामोड–६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले उनलाई पुरस्कार प्रदान गरेका थिए।

buttabari goldcup 1

प्रतियोगिताअन्तर्गत भोलि हुने दोस्रो क्वाटरफाइनलमा बेलबारी फुटबल क्लब मोरङ र रेडहर्स फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ। बिर्तामोड–६ स्थित नमुना खेल मैदानमा दिउँसो ३ बजे खेल सुरु हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।

1b2febb0-0333-49f9-ac1c-89dd6106e052

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

भारतको एकसहित नेपालका सात गरी कुल ८ टोली सहभागी प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुने तय गरिएको छ।