झापा, अर्जुनधारा । झापाको अर्जुनधारामा जारी यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को सातौं खेलमा विराटनगरको लायन्स क्रिकेट एकाडेमीले भारत कोलकाताको क्रिकेट जोन अन्दललाई ११ रनले पराजित गरेको छ।

अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा शनिबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लायन्स क्रिकेट एकाडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनायो। टोलीका लागि आशिष अधिकारीले २९ रनको योगदान दिए भने करिताथा बस्नेतले २१ र रागव कार्कीले १६ रन जोडे।

बलिङतर्फ क्रिकेट जोन अन्दलका अर्घदीप मण्डलले ४ ओभरमा ३ विकेट लिँदा वेद कुमारले २ विकेट लिए।

673441772_1574042854730111_6387945247050062510_n 1

१२४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको अन्दल १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमै सीमित भयो। अर्घदीप मण्डलले २९ रन र वेद कुमारले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

लायन्सका बलर रागव कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ३ विकेट लिए। सुभाष मण्डलले २ तथा बिवान चापागाईंले १ विकेट लिँदै टोलीलाई जित दिलाए।

674186997_1574106468057083_216950760108596271_n

अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालन भइरहेको यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीमा नेपाल र भारतका गरी १० वटा यू–१३ टोलीहरूको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ र उपविजेता टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।