झापा, बुद्धशान्ति — “परम्परागत संस्कृतिको पहिचान, संरक्षण र सम्बर्द्धन हाम्रो अभियान” भन्ने मूल नारासहित बुद्धशान्ति गाउँपालिकामा “आदिवासी जनजाति सांस्कृतिक महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। आदिवासी जनजाति निर्वाचित जनप्रतिनिधि समन्वय समिति बुद्धशान्ति गाउँपालिकाको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको प्रायोजनमा सम्पन्न महोत्सवले स्थानीय स्तरमा सांस्कृतिक उत्साहको नयाँ लहर सिर्जना गरेको छ।

बुद्धशान्ति गाउँपालिका–३ स्थित क्रिकेट खेल मैदानमा सम्पन्न कार्यक्रममा समन्वय समितिका संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष परशुराम चेम्जोङको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष मनोज प्रसाईं सहभागी हुनुभएको थियो भने गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

IMG_5648

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका सातै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक तथा शैक्षिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विभिन्न जातजातिका व्यक्तिहरू आफ्नै मौलिक भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए, जसले महोत्सवलाई अझ आकर्षक बनाएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य वडा नं. ४ का जनप्रतिनिधि सञ्जितकुमार थेबेले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन आदिवासी जनजाति निर्वाचित जनप्रतिनिधि समन्वय समिति सचिव तथा कार्यपालिका सदस्य दिनेश लेप्चाले गर्नुभएको थियो। वाचनमार्फत उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि मनोज प्रसाईंले शुभकामना मन्तव्य राख्दै बुद्धशान्तिमा पहिलोपटक आयोजना गरिएको यस्तो महोत्सव अत्यन्त सफल र उदाहरणीय भएको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय संस्कृति संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।

IMG_5621

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष परशुराम चेम्जोङले बुद्धशान्तिमा रहेका विविध जातजातिको मौलिक पहिचान, भाषा, भेषभूषा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

महोत्सवमा किराँत याक्थुङ चुम्लुङ बुद्धशान्ति, किराँत राई यायोखा बुद्धशान्ति–१, २, ३, नेपाल मगर संघ बुद्धशान्ति, नेवा देय दबू बुद्धशान्ति, तामाङ घेदुङ समाज बुद्धशान्ति, तामु समाज बुद्धशान्ति, धिमाल संघ बुद्धशान्ति, थारू कल्याणकारी सभा बुद्धशान्ति, नेपाल कुमाल समाज सुधार समिति बुद्धशान्ति लगायत विभिन्न आदिवासी जनजाति संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत च्याब्रुङ नृत्य, मगर नृत्य, साकेला नृत्य, महारानी नृत्य, लाखे नृत्य, लेप्चा नृत्य लगायत विविध सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। साथै राष्ट्रिय कलाकार ताराप्रसाद लिम्बूको बेजोड सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो, जसले दर्शकहरूलाई थप उत्साहित बनाएको थियो।

IMG20260419155331

कार्यक्रम सम्पन्न भएसँगै सहभागी तथा आयोजकहरू अत्यन्त उत्साहित देखिए। उनीहरूका अनुसार, महोत्सवले आफ्नो सांस्कृतिक पहिचानप्रति गर्व जगाएको छ भने यस्ता कार्यक्रमले सामाजिक समावेशिता, आपसी सद्भाव, एकता तथा सहअस्तित्वलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

विभिन्न जातजातिको मौलिक कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सव बुद्धशान्ति गाउँपालिकाको इतिहासमै पहिलोपटक सम्पन्न भएको उत्कृष्ट, भव्य र सफल कार्यक्रमका रूपमा स्थापित भएको छ।