बिर्तामोडमा शैक्षिक परामर्श क्षेत्रको विस्तारसँगै विद्यार्थी लक्षित सेवाहरू थप सुदृढ बन्न थालेका छन्।
यसैक्रममा स्टेप वान एजुकेशन कन्सल्टेन्सीले झापाको बिर्तामोडमा आफ्नो चौथो नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
यो कन्सल्टेन्सीको चौथो शाखा हो, जसले पूर्वी नेपालका विद्यार्थीहरूलाई लक्षित गर्दै सेवा विस्तार गरेको हो ।

काठमाडौंमा मुख्य कार्यालय रहेको यस कन्सल्टेन्सीले विशेषगरी दक्षिण कोरिया अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरूलाई भाषा कक्षा तथा शैक्षिक परामर्श प्रदान गर्दै आएको छ।
अब बिर्तामोडस्थित भद्रपुर रोडमा शाखा सञ्चालनमा आएपछि पूर्वका विद्यार्थीहरूले आफ्नै क्षेत्रबाट सहज रूपमा सेवा लिन सक्नेछन्।
कन्सल्टेन्सीका व्यवस्थापक हेमन्त चौहानका अनुसार, “विद्यार्थीहरूलाई विदेश अध्ययन प्रक्रियामा हुने झन्झट कम गर्दै गुणस्तरीय मार्गदर्शन दिनु हाम्रो मुख्य उद्देश्य हो।”
उनले दक्षिण कोरियासँगै जापान, क्यानाडा, बेलायत र अष्ट्रेलियाजस्ता देशहरूमा अध्ययनका लागि आवश्यक परामर्श, भाषा तयारी तथा डकुमेन्टेसन सहयोग समेत उपलब्ध गराइने बताए।
चार वर्षअघि स्थापना भएको स्टेप वानले हालसम्म काठमाडौं, धरान र इटहरीबाट सेवा दिँदै आएको थियो। नयाँ शाखासँगै कन्सल्टेन्सीले आफ्नो पहुँच अझ फराकिलो बनाएको छ।
शाखाको उद्घाटन युवा व्यवसायी अर्जुन मैनालीले रिबन काटेर गरेका थिए। उद्घाटन अघि पूजापाठ तथा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो, जसमा स्थानीय व्यवसायी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कन्सल्टेन्सीले हालसम्म ४०० भन्दा बढी नेपाली विद्यार्थीहरूलाई दक्षिण कोरियाका प्रतिष्ठित विश्वविद्यालयहरू—जुङुवु, कङवोन नेशनल, तोङम्याङ र कोनयाङ—मा पठाइसकेको जनाएको छ।
आगामी दिनमा अझ व्यवस्थित सेवा, अनुभवी प्रशिक्षक र अद्यावधिक जानकारीमार्फत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
साथै, कन्सल्टेन्सीले भाषा शिक्षासँगै विदेशको जीवनशैली, संस्कृति, वातावरण र रोजगारीका सम्भावनाबारे समेत अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ, जसले विद्यार्थीहरूलाई नयाँ परिवेशमा सजिलै घुलमिल हुन मद्दत गर्ने विश्वास लिइएको छ।














