दार्जिलिङ । भारतको निर्वाचन आयोगले पश्चिम बंगाल विधानसभाको चुनाव नजिकिँदै जाँदा सुरक्षा सतर्कता बढाएको छ। सोही क्रममा पश्चिम बंगालसँग सिमा जोडिएका अन्तर्राष्ट्रिय नाकाहरूमा अस्थायी रूपमा कडाइ गरिएको छ।

दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल र बंगलादेशसँग जोडिएका स्थल नाकाहरू आज साँझ ६ बजेदेखि बन्द गरिनेछ। मतदान प्रक्रिया सम्पन्न नभएसम्म यो व्यवस्था लागू रहने बताइएको छ। यसअन्तर्गत झापाको काकडभिट्टा र इलामको पशुपतिनगर नाका ७२ घण्टासम्म बन्द रहनेछन्।

जिल्ला प्रशासन प्रमुख हरिशंकर पनिक्करले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२) अनुसार आदेश जारी गर्दै सीमा क्षेत्रमा मानिस र सवारी साधनको आवतजावतमा नियन्त्रण गरिएको जानकारी दिएका छन्।

आगामी अप्रिल २३ मा हुने निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन यस्तो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ।

यद्यपि, आपतकालीन अवस्थाका लागि केही छुटको व्यवस्था गरिएको छ। गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई सीमा पार गर्न अनुमति दिइनेछ भने आवश्यक कागजात भएका पर्यटक तथा भारतीय नागरिकले प्रक्रिया पूरा गरी आवतजावत गर्न पाउनेछन्। साथै, अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई कडाइका साथ जाँच गरेर सञ्चालन गर्न दिइनेछ।

दार्जिलिङ जिल्लाभित्र पर्ने पाँच निर्वाचन क्षेत्रका मतदातालाई भने आवश्यक प्रमाणका आधारमा मतदान अवधिमा जिल्ला प्रवेश गर्न सहुलियत दिइने जनाइएको छ।

प्रशासनले सर्वसाधारणलाई नियमको पालना गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।