झापा । बालबालिकाको स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले बिर्तामोडमा १५ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ।

झापाको बिर्तामोडस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले आजदेखि सञ्चालनमा ल्याएको उक्त शिविर वैशाख २१ गतेसम्म चल्ने अस्पताल प्रशासनले जनाएको छ। शिविरमार्फत विशेषगरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकालाई लक्षित गरिएको छ।

अस्पतालका प्रबन्ध निर्देशक तथा नवजात शिशु एवं बालरोग विशेषज्ञ डा. रुपक आर्चायका अनुसार समुदायस्तरमै बाल स्वास्थ्यप्रति सचेतना बढाउने र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। उनले यस कार्यक्रमबाट विपन्न तथा ग्रामीण क्षेत्रका बालबालिकाले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गरे।

शिविर अवधिभर ओपीडी सेवा निःशुल्क प्रदान गरिनेछ भने अन्य सेवाहरू तथा ल्याब परीक्षणमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यले जानकारी दिइन्। उनका अनुसार नवजात शिशुदेखि बालबालिकासम्मका बिरामीलाई विशेषज्ञ चिकित्सक टोलीमार्फत सेवा दिइनेछ।

अस्पतालले बालरोग तथा पोषणसम्बन्धी समस्याको पहिचान र उपचारमा विशेष ध्यान दिने जनाएको छ। साथै, स्थानीय तहको सिफारिसमा आउने विपन्न सेवाग्राहीलाई थप सहुलियत दिने व्यवस्था पनि मिलाइएको छ।

अस्पतालकी अध्यक्ष लीला मैनालीले स्वास्थ्य सेवाबाट टाढा रहेका बालबालिकालाई सेवा दिनु नै शिविरको मुख्य उद्देश्य रहेको बताउँदै अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्य परीक्षण गराउन आग्रह गरिन्। उनले पत्रकारका सन्तानको उपचारमा समेत विशेष छुट दिने प्रतिबद्धता व्यक्त गरिन्।

झापा मेडिकल सेवाको केन्द्रका रूपमा परिचित भए पनि बालबालिकाका लागि छुट्टै अस्पतालको अभाव रहेको अवस्थामा बिर्तामोड चिल्ड्रेन अस्पताललाई जिल्लाकै पहिलो विशिष्ट बाल अस्पतालका रूपमा प्रस्तुत गरिएको अस्पताल प्रशासनले जनाएको छ।