अर्जुनधारा । यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीको फाइनल खेल भोलि मध्यान्ह १२ बजे अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा हुँदैछ । उपाधिका लागि बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमी आमनेसामने हुनेछन्।
आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलकाताको क्रिकेट जोन अन्दलालाई २ विकेटले पराजित गर्दै सरस्वती क्रिकेट एकेडेमी फाइनलमा प्रवेश गरेको हो। पहिले ब्याटिङ गरेको अन्दलले २० ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो। उसका लागि रेयान्स अग्रवालले ३८ रन बनाए भने सुमितले १५ र साजिद सेखले १० रन जोडे।

बलिङतर्फ सरस्वतीका अन्जिल आचार्य, कुश साहा र स्पर्श गुरागाईंले समान २–२ विकेट लिए। ११५ रनको लक्ष्य पछ्याएको सरस्वतीले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै रोमाञ्चक जित निकालेको हो। सरस्वतीका लागि कुश साहाले ३२ रन बनाए भने साम्री बुढाथोकीले २८ र आरव श्रेष्ठले १३ रनको योगदान दिए।
अन्दलका आयुष साहनी र आर्यदीप मण्डलले समान २–२ विकेट लिए भने सामिद सेखले १ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका कुश साहा प्लेयर अफ द म्याच घोषित भए। उनले ३२ रनसँगै २ विकेट लिएका थिए।
यसअघि भएको पहिलो सेमिफाइनलबाट अर्जुनधाराकाे बोस्टन क्रिकेट एकेडेमी फाइनलमा प्रवेश गरिसकेको थियो।
अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बिस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा भइरहेको प्रतियोगितामा भारतका २ र नेपालका ८ गरी १० टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। आयोजकले फाइनल खेल प्रत्यक्ष अवलोकनका लागि दर्शकलाई मैदानमा उपस्थित हुन आग्रह गरेको छ।














