बिर्तामोड । ‘एनी चौथो बुट्टाबारी गोल्ड कप’ नकाउट फुटबल प्रतियोगिता अन्तर्गत आज चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा फेयर फुटबल क्लब धरान र कचनकवलको बगान युथ क्लब आमनेसामने हुँदै छन्।

बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने खेलको विजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ।

आजको विजेताले वैशाख १० गते मोरङको बेलबारीसँग सेमिफाइनल खेल्नेछ। यसअघि हिजो सम्पन्न तेस्रो क्वाटरफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबले झापाको जलथल फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ। ब्रदरहुडले वैशाख ९ गते आयोजक बुट्टाबारी युनाइटेडसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।


 जनहितमा जारी


Capture 6प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक बुट्टाबारी युनाइटेडका अध्यक्ष प्रविन राईले जानकारी दिए।

प्रतियोगिताको टाइटल स्पोन्सर खेलकुद कपडाको ब्रान्ड ‘एनी’ रहेको छ भने बिर्तामोड नगरपालिकाले पहिलो पुरस्कार तथा कनकाई अस्पतालले दोस्रो पुरस्कार प्रायोजन गरेको आयोजकका संस्थापक अध्यक्ष हिमाल कन्दङ्वाले जानकारी दिएका छन्।