टोकियो । जापानको उत्तरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी टोकियोका गगनचुम्बी भवनहरूमा समेत कडा झट्का महसुस गरिएको छ भने तटीय क्षेत्रमा तीन मिटरसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार सोमबार साँझ ४ बजेर ५३ मिनेटमा उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरीय क्षेत्रमा भूकम्प गएको हो । सुरुमा ७.४ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्पलाई पछि परिमार्जन गरी ७.५ कायम गरिएको छ ।

भूकम्पको करिब ४० मिनेटपछि इवातेको कुजी बन्दरगाहमा ८० सेन्टिमिटर (३१ इन्च) अग्लो सुनामीको लहर ठोक्किएको छ ।

जेएमएले विशेष बुलेटिन जारी गर्दै तटीय र नदी किनारका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थान वा अग्लो भवनमा जान निर्देशन दिएको छ । "सुनामीको छाल पटक–पटक आउन सक्ने भएकाले चेतावनी पूर्ण रूपमा नहटेसम्म सुरक्षित स्थान नछोड्न" अधिकारीहरूले आग्रह गरेका छन् । राष्ट्रिय प्रसारक एनएचकेको प्रारम्भिक रिपोर्टअनुसार इवातेका बन्दरगाह वरपरका क्षेत्रमा तत्कालै ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

यसैबीच, जापान सरकारले प्रधानमन्त्री कार्यालयमा सङ्कट व्यवस्थापन टोली गठन गरेको छ । प्रधानमन्त्री साने ताकाइचीले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग पुर्‍याउन सञ्चार क्षेत्रलाई आह्वान गर्नुभएको छ । जेएमएका अधिकारीहरूले आगामी साताभित्र थप शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी समेत दिएका छन् ।

प्रशान्त महासागरको 'रिङ अफ फायर' मा अवस्थित जापान विश्वकै सबैभन्दा बढी भूकम्पीय जोखिम भएको देश मानिन्छ । यहाँ वार्षिक करिब एक हजार ५०० साना–ठूला भूकम्प जाने गरेका छन्, जुन विश्वको कुल भूकम्पीय सक्रियताको १८ प्रतिशत हिस्सा हो । यसअघि सन् २०२५ डिसेम्बरमा पनि यसै क्षेत्रमा शक्तिशाली कम्पन जाँदा ४० जना घाइते भएका थिए ।