बिर्तामोड । भरत भाबुक प्रसाई  – नेपाली सुगम संगीतका शिखर व्यक्तित्व गायक रामकृष्ण ढकाल झण्डै २५ वर्षपछि फिल्म क्षेत्रमा फर्किएका छन्। झण्डै साढे तीन दशक लामो सांगीतिक यात्रा पार गरेका ढकाल यसपटक अभिनेता नभई निर्माताको नयाँ भूमिकामा प्रस्तुत हुन लागेका हुन्।


उनीद्वारा निर्मित चलचित्र ‘मालती मंगले’ आगामी वैशाख २५ गते देखि देशभरका हलमा प्रदर्शन हुने तय भएको छ। वि.सं. २०५७ सालमा प्रदर्शन भएको सुपरहिट फिल्म ‘आशीर्वाद’ मा आफ्नै जीवनकथामा अभिनय गरेर चर्चा कमाएका ढकालले लामो अन्तरालपछि फिल्म निर्माणमा हात हालेका हुन्।

678221034_1610003563822548_505613378786509580_n

आफ्नो दोस्रो इनिङका रूपमा फिल्म निर्माणलाई रोजेका ढकालले यसलाई केवल रहर भन्दा पनि कामको निरन्तरता भएको बताएका छन्। यसअघि उनले ‘बाँचुञ्जेली’ शीर्षकमा फिल्म बनाउने तयारी गरे पनि भूकम्प र कोभिड महामारीका कारण उक्त परियोजना अघि बढ्न सकेको थिएन।

प्रकु पाण्डेयको निर्देशन तथा लेखन रहेको ‘मालती मंगले’ एउटा मौलिक प्रेम कथामा आधारित फिल्म हो। जसमा ग्रामीण जीवनको सादगी, आर्थिक अभाव र समाजका चुनौतीहरूलाई उतारिएको छ। फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका रहेको छ।

IMG_0318 1

फिल्मको कथाको मागअनुसार आफू फिट नहुने देखिएपछि उनले यसपटक अभिनयभन्दा निर्माण र संगीतलाई नै प्राथमिकता दिएका हुन्।

गायक ढकालले यस फिल्मलाई ‘म्युजिकल लभस्टोरी’ का रूपमा व्याख्या गरेका छन्। फिल्ममा सेन्टिमेन्टल मेलोडी, डान्सिङ नम्बर र भजन गरी विभिन्न विधाका गीतहरू समावेश छन्, जसमा ढकालकै स्वर सुन्न सकिनेछ।


'आशीर्वाद' मा काम गर्दा अभिनेताको रूपमा दबाब महसुस गरेका ढकालले यसपटक निर्माताका रूपमा लगानीको जोखिम र जिम्मेवारी बढेको स्वीकार गरेका छन्।

यद्यपि, मौलिक नेपाली कथा र स्तरीय संगीत भएका कारण फिल्मले दर्शकको मन जित्नेमा उनी विश्वस्त देखिएका छन्।