बिर्तामोड । आयोजक बुट्टाबारी युनाइटेड चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै बुट्टाबारीले उपाधि नजिकको यात्रा तय गरेको हो ।
निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा बुट्टाबारीका सनिल लामा र बिशाल थिङले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५२औं मिनेटमा सनिल लामाले गोल गर्दै बुट्टाबारीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दबाबमा परेको ब्रदरहुडले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । खेलको अतिरिक्त समयमा बिशाल थिङले अर्को गोल थपेपछि बुट्टाबारीले २–० को अग्रता बनाउँदै जित सुनिश्चित गर्यो ।
बुट्टाबारीका लागि पहिलो गोल गरेका सनिल लामा ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र टाइटल स्पोन्सर एनीका सञ्चालक सन्तोष थ्रोपाले पुरस्कार प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो सेमिफाइनलमा धरानको फेयर फुटबल क्लब र मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल वैशाख १२ गते हुनेछ । विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ । उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकका अध्यक्ष प्रविन राईले जानकारी दिए ।
प्रतियोगिताको टाइटल स्पोन्सर खेलकुद कपडाको ब्रान्ड ‘एनी’ रहेको छ भने बिर्तामोड नगरपालिकाले पहिलो पुरस्कार र कनकाई अस्पतालले दोस्रो पुरस्कार प्रायोजन गरेको संस्थापक अध्यक्ष हिमाल कन्दङ्वाले बताए ।














