बिर्तामोड । झापाको बिर्तामोड–१ स्थित मनकामना कलेजले कक्षा १२ तथा बीए, बीएड र बीएसडब्ल्यू चौथो वर्षका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच विदाई गरेको छ।
बिर्तामोड स्थित सि पी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

क्याम्पस प्रमुख मोहन शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको सुरुवातमा अध्यक्ष शिवाकोटीले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै विदाई कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो।
उहाँले आफ्नो लामो शैक्षिक अनुभवलाई अब कलेजको व्यवस्थापन सुदृढीकरणमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिवाकोटीले मनकामना कलेजलाई झापाकै उत्कृष्ट र विद्यार्थीमैत्री शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्दै निकट भविष्यमै कुनै एक विषयमा मास्टर डिग्री तहको कक्षा सञ्चालन गर्ने योजना समेत सार्वजनिक गर्नुभयो।
साथै, कलेजलाई यहाँसम्म ल्याउन निवर्तमान क्याम्पस प्रमुख भट्टराईको योगदान महत्वपूर्ण रहेको उहाँले जिकिर गर्नुभयो।

कार्यक्रममा लेखा शाखा प्रमुख तथा शेयर सदस्य रामकुमार बुढाथोकी, शेयर सदस्य राजेन्द्र प्रसाई, व्यवस्थापन संकाय प्रमुख उदय कटुवाल, कानुन संकाय प्रमुख सुदीप कुमार सुवेदी, बीएसडब्ल्यू संकाय प्रमुख प्रभात शिवाकोटी लगायत शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

विदाई कार्यक्रममा कक्षा १२ तथा बीए, बीएड र बीएसडब्ल्यू चौथो वर्षका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै औपचारिक विदाई गरिएको थियो।
विद्यार्थीका तर्फबाट कक्षा १२ का सीएम ओली र बीए चौथो वर्षका भरत प्रसाईले कलेजमा अध्ययन गर्दा प्राप्त अनुभव प्रस्तुत गरेका थिए ।
विद्यार्थी प्रसाईले मनकामना कलेजले आफ्नो पत्रकारितालाई निर्खान धेरै मद्वत पु¥याएको बताए ।
प्रसाई हाल झापामा सक्रिय पत्रकारका रूपमा समेत परिचित हुनुहुन्छ।
कार्यक्रमलाई अझै आकर्षक बनाउन विद्यार्थीहरूले नृत्य, गीत तथा साहित्यिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।
सोही अवसरमा निवर्तमान क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईलाई दोसल्ला, खादा र प्रमाणपत्रद्वारा सम्मान गर्दै विदाई गरिएको थियो।
कार्यक्रमको सञ्चालन क्याम्पसका शिक्षक विजय तिम्सिनाले गर्नुभएको थियो।














