इलाम । कोशी प्रदेशका वन पर्यटन तथा बातावरण मन्त्री भिम पराजुलीले संघीय सरकारका सबै निर्णय प्रदेशले अन्धाधुन्ध मान्नैपर्छ भन्ने बाध्यता नरहेको बताएका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आयोजित पर्यटन पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले आफ्ना आवश्यकता र प्राथमिकताका आधारमा स्वतन्त्र निर्णय लिन सक्ने स्पष्ट पारे।

सूर्योदय नगरपालिका–अन्तु, इलाममा सुरु भएको चारदिने तालिम (१०–१३ गते) मा कोशी प्रदेशका सात जिल्लाबाट पत्रकारहरूको सहभागिता रहेको छ। कार्यक्रम भरत खड्का को अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै वक्ता सुजन तिमल्सिनाले पत्रकार महासंघको भूमिका निष्पक्ष र सन्तुलित रहनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ काेशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वागत मन्तव्य राख्दै, पत्रकारिता पेशा संकटमा पर्दै गएको उल्लेख गरिन् ।
कार्यक्रमका बीच नेपाल पत्रकार महासङ्घकोशी प्रदेशले प्रकाशन गरेको क्यालेन्डरको विमोचन गरिएको थियो।
होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एकराज धिमिरेले पर्यटन क्षेत्रमा सम्भावना र चुनौती दुवै रहेको उल्लेख गर्दै गहिरो अध्ययनसहित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे।
उनले विकाससँगै देखिएका विकृतिहरूलाई समेत उजागर गर्नुपर्ने धारणा राखे।
तालिमका प्रशिक्षक, मदन पुरस्कार विजेता मोहन मैनाली ले पर्यटन पत्रकारितालाई अनुसन्धानमूलक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिम बासँकोटाले पूर्वी पहाडका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भिम चापागाईं ले इलामलाई मुलुककै अग्रणी पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना औंल्याए।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छवि खतिवडा ले पर्यटनलाई उद्योगका रूपमा विकास गर्न कृषि र प्राकृतिक सम्पदायलाई उचित परिचालन र उपयाेग गर्नुपर्ने बताए ।
उनले पर्यटन तालिम पछि आउने समाचार सामग्री पर्यटनमैत्री हुनेेमा आफू विस्वस्थ रहेकाे बताए ।
सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गा खनाल ले नगरलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्यसहित पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय प्रचारप्रसारमा जोड दिइएको जानकारी दिए।
उनले अन्तु क्षेत्र, बुद्ध पार्क, झोलुङ्गे पुललगायत संरचनाले नगरलाई आकर्षक गन्तव्य बनाएको बताए। उनले सुर्याेदय नगरपालिकाका १४ वटा वडा भित्र पर्ने पर्यटकिय क्षेत्रकाे विकास गर्न सके यस क्षेेत्रका जनताले विदेश जानु नपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री पराजुलीले पत्रकारिता पेशा चुनौतीपूर्ण बन्दै गएको स्वीकार गर्दै पत्रकारलाई टिकाउन प्रदेश सरकारले सहयोगी नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए।
उनले आगामी बजेटमा सामुदायिक भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै पर्यटन र पत्रकारिता “नङ र मासु” जस्तै अन्तरसम्बन्धित क्षेत्र भएको उल्लेख गरे।
कार्यक्रममा पत्रकार, पर्यटनकर्मी तथा सरोकारवालाहरूले पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र पत्रकारिताको दिगोपनबारे व्यापक छलफल गरेका थिए।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा वैशाख १० गतेदेखि १३ गतेसम्म पर्यटन पत्रकारिता तालिम सञ्चालन भइरहेको छ पर्यटन पत्रकारितालाई अझ सशक्त बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले जानकारी दिए।
उक्त तालिममा कोशी प्रदेशभित्रका सात जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ।
उद्धाटन कार्यक्रम पछि प्रशिक्षणमा उपस्थित पत्रकारहरुले पर्यटन क्षेत्रमा देखिएकाे समस्या र दिगाे निकासका सम्बन्धमा मन्त्री पराजुली जानकारी गराएका थिए ।














