काठमाडौं । अमेरिकाका ५६ प्रतिशत मतदाताले ट्रम्प प्रशासन संघीय सरकार सञ्चालन गर्न सक्षम नरहेको बताएका छन् । यस्तो मत दिनेहरूमा ७० प्रतिशत स्वतन्त्र मतदाता र ४० प्रतिशत रिपब्लिकन मतदाता रहेको फक्स न्युजले जनाएको छ । सर्वेक्षणमा ४३ प्रतिशत मतदाताले ह्वाइट हाउसले प्रभावकारी रूपमा सरकार सञ्चालन गरिरहेको विश्वास व्यक्त गरेका छन् ।
यद्यपि, सर्वेक्षणको निष्कर्ष सन् २०१५ को ओबामा प्रशासन र सन् २०२२ को बाइडेन प्रशासनको लोकप्रियताको हाराहारीमा रहेको बताइएको छ । सर्वेक्षणकर्ता डारन शका अनुसार मतदाताहरू प्रायः सबै राष्ट्रपतिहरूप्रति आलोचनात्मक हुने प्रवृत्ति राख्छन् ।
प्रमुख नीतिगत मुद्दाहरूमा ट्रम्पका अधिकांश नीतिहरूलेनकारात्मक रेटिङ पाएका छन् । यद्यपि, सीमा सुरक्षाको मुद्दामा भने उनलाई बहुमतको समर्थन प्राप्त भएको देखिएको छ । सीमा सुरक्षामा ५३ प्रतिशत समर्थन र ४७ प्रतिशत विरोध रहेको छ । अध्यागमन मुद्दामा ४६ प्रतिशत समर्थन र ५४ प्रतिशत विरोध रहेको छ । चीन नीतिमा ४२ प्रतिशत समर्थन र ५७ प्रतिशत विरोध देखिएको छ भने परराष्ट्र नीतिमा ४० प्रतिशत समर्थन र ६० प्रतिशत विरोध रहेको छ ।














