काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पदाधिकारीहरूको कार्यविभाजनबारे छलफल हुने बताइएकाे छ ।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काठमाडौंमा उपलब्ध पदाधिकारीलाई बैठकमा सहभागी हुन बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने उनले जानकारी दिए ।

उपसभापति मधु आचार्यले पनि पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक विषय बैठकको मुख्य एजेन्डा रहेको बताएका छन् ।

उपसभापति मधु आचार्यले पनि पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक विषय बैठकको मुख्य एजेन्डा रहेको बताएका छन् ।

यसैबीच, सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै कांग्रेस सभापति थापामाथि निगरानी बढाइएको चर्चा सुरु भएको छ ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा दिएको भनिएको बयान प्रधानमन्त्री शाहको सचिवालयको योजनामा सार्वजनिक गरिएको कांग्रेस पक्षको आरोप छ । उक्त घटनालाई लिएर कांग्रेस सरकारप्रति थप आक्रामक बनेको छ ।

प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमा एक–दुई जनालाई उम्किन नदिने आशयको चेतावनी दिएका थिए । उनले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको जवाफमा कांग्रेस सभापति थापाले सोमबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका थिए । उनले ‘अहिले ठिक १८:०० बजेको छ, तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै सरकारको चेतावनीप्रति प्रतिवाद गरेका थिए ।

प्रधानमन्त्री र कांग्रेस सभापतिबीच सामाजिक सञ्जालबाटै भनाभन भएपछ राजनीतिक वृत्तमा यसले थप चर्चा पाएको छ । यही पृष्ठभूमिमा बस्न लागेको कांग्रेस पदाधिकारी बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।