इलाम (श्रीअन्तु) । पर्यटन पत्रकारितामा कथा, अनुभव र दृश्य प्रस्तुतीकरणको सीप अभिवृद्धि गर्ने उद्देश्यले कोशी प्रदेशका पत्रकारहरूलाई लक्षित गरी चारदिने विशेष तालिम सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा सम्पन्न तालिममा सात जिल्लाबाट छनोट गरिएका ३० जना पत्रकार सहभागी भएका थिए।

इलामको रमणीय पर्यटकीय स्थल श्रीअन्तुमा सञ्चालन गरिएको तालिम लेखक तथा पत्रकार मोहन मैनालीको सहजीकरणमा सम्पन्न भएको हो। तालिममा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी र तेह्रथुम जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रम पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा आयोजना गरिएको हो।

कार्यक्रम संयोजक तथा महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीका अनुसार जिल्ला शाखाहरूले सिफारिस गरेका पत्रकारहरूलाई सहभागी गराई तालिमलाई व्यवहारिक बनाइएको थियो।

IMG-20260425-WA0050-1-scaledअन्तुडाँडा होमस्टेमा सञ्चालन गरिएको तालिममा सैद्धान्तिक कक्षासँगै फिल्ड भिजिट, केस स्टडी र समूह छलफललाई पनि प्राथमिकता दिइएको थियो।

कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्नुभएको थियो। उहाँले पर्यटन प्रवर्द्धनमा तथ्यमा आधारित, सन्तुलित र सकारात्मक पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

महासंघ कोशी प्रदेशका अध्यक्ष भरत बहादुर खड्काले पर्यटन पत्रकारितामा सिर्जनात्मक लेखन, स्थानीय संस्कृति र परिवेशको सूक्ष्म प्रस्तुतीकरण आवश्यक पर्ने उल्लेख गर्दै तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

तालिमका प्रशिक्षक मोहन मैनालीले पत्रकारिताले केवल सूचना प्रवाह मात्र नभई पर्यटन विकासमा योगदान पुर्‍याउनुपर्ने धारणा राख्नुभयो। उहाँले वातावरण संरक्षण, दिगो पर्यटन र स्थानीय समुदायको हितलाई केन्द्रमा राखेर सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो।

तालिम अवधिमा सहभागी पत्रकारहरूलाई अन्तुडाँडा, गुफापाताल, अन्तुपोखरी लगायतका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण समेत गराइएको थियो।

तेह्रथुमबाट सहभागी पत्रकार सबिना लिम्बूले तालिमलाई व्यवहारिक र उपयोगी भएको बताउँदै सिकाइलाई आगामी लेखनमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

चार दिनसम्म सञ्चालन भएको उक्त तालिम आइतबार औपचारिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।