पवन ढकाल बुद्धशान्ति, झापा — बुद्धशान्ति ढकाल बन्धु समाजको आयोजनामा ढकाल बन्धुहरूको भव्य भेला तथा गोठधुप कार्यक्रम सम्पन्न भएको छ। आफ्ना कुल परम्परा संरक्षण तथा बन्धुत्वको भावना सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
IMG_6470
कार्यक्रम बुद्धशान्ति–३ जयपुरस्थित मोहन ढकालको घरमा सम्पन्न भएको थियो। समाजका अध्यक्ष बिश्वनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष डिल्लीराम ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी, केन्द्रिय सचिव टेकेन्द्र ढकाल, नवगठित जिल्ला अध्यक्ष त्रिभुवन ढकाल लगायत विभिन्न तहका समितिका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा उपाध्यक्ष दुर्गादेबी ढकालले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव उमाराज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।
IMG_6477
कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडामा बसोबास गर्ने ढकाल बन्धुहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूबीच आत्मीय भेटघाट तथा परिचय आदानप्रदान गरिएको थियो।
कार्यक्रमअन्तर्गत परम्परागत विधिअनुसार गोठधुप पूजा सम्पन्न गरी कुल देवताको आशीर्वाद लिइएको थियो। साथै, समाजलाई थप व्यवस्थित बनाउने तथा आगामी दिनमा सञ्चालन गरिने सामाजिक गतिविधिबारे समेत छलफल गरिएको आयोजकले जनाएको छ।
IMG_6472
धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने यस्ता कार्यक्रमले छरिएर रहेका बन्धुहरूलाई एकै ठाउँमा ल्याउनुका साथै नयाँ पुस्तामा आफ्नो परम्परा र संस्कार हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।