बिर्तामोड : बिर्तामोड नगरपालिका वडा नम्बर १ मा बालक्लबका पदाधिकारीहरुलाई प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ ।
आदर्श बालक्लबका २९ जना बालबालिकाहरुको लागि आयोजित २ दिने तालिम सम्पन्न भएको हो । योसंगै सामाजिक सञ्जालको प्रयोग, लागुपदार्थ दुर्व्यसनी, व्यक्तिगत घटना दर्ता लगायतका विषयमा तालिम प्रदान गरिएको वडासचिब जानुका बस्नेतले जानकारी दिनुभयो ।
तालिममा चेतना नेपालका सञ्चालक ईन्द्रप्रसाद ओली र प्रेम कुमार सेडाईले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड १ का वडाअध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले देशको नेतृत्वमा पुग्ने बालबालिकाहरुलाई यस प्रकारको ज्ञान आवश्यक भएकोले तालिमको आयोजना गरिएको बताउनु भयो ।
आगामी वर्षको बजेटमा पनि योजना बनाएर बालबालिकाहरुको लागि तालिम प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
यसका लागि योजना तर्जुमा गर्दा बालबालिकाहरुलाई सहभागि गराउने वडाअध्यक्ष पाण्डेको प्रतिवद्दता छ ।
कार्यक्रममा बोल्दै तालिममा सहभागी सुलभ कार्की र तपस्या प्रसाईले तालिम प्रभावकारी भएको र यसलाई व्यवहारमा लागु गर्ने धारणा राख्नु भयो ।
तालिममा सहभागिहरुको क्रियाशिलताको आधारमा ४ जनालाई पुरस्कृतसमेत गरिएको छ । जसमा तपस्या तामन प्रसाई प्रथम, आर्या पाण्डे दोश्रो,सायुमा लिम्बु तेश्रो र जोशना कार्की सान्तवना हुनु भएको छ ।
आदर्श बालक्लबका अध्यक्ष न्युसन थापाको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य यामुना आचार्य,पूर्ववडासदस्य प्रेमप्रसाद खरेल लगायतको उपस्थिति रहेको थियो ।














