झापा, बिर्तामोड । ग्रामीण परिकार तथा स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित झापाको बिर्तामोड–९ मा रहेको “उज्यालो चिन्तन चौतारी रिसोर्ट” पुनः सञ्चालनमा आएको छ।
कोभिड महामारीअघि सञ्चालनमा आएको रिसोर्ट देशको विषम परिस्थिति र कोरोना महामारीका कारण केही समय बन्द रहेको थियो।
अहिले सम्पूर्ण संरचनाको पुनर्निर्माण तथा स्तरोन्नतिसहित रिसोर्टलाई नयाँ स्वरूपमा पुनः सञ्चालनमा ल्याइएको हो।
करिब १० कट्टा क्षेत्रफलमा फैलिएको रिसोर्टलाई ग्रामीण परिवेश, हरियाली वातावरण र पारिवारिक मनोरञ्जनलाई केन्द्रमा राखेर पुनः डिजाइन गरिएको रिसोर्टका सञ्चालक प्रकाश शिवाकोटीले जानकारी दिनुभयो।
उहाँका अनुसार ग्राहकको चाहना र समयको मागअनुसार अर्गानिक तथा ग्रामीण स्वादका परिकारलाई प्राथमिकता दिइएको छ।
रिसोर्टमा अर्गानिक मासुका परिकारसँगै नेपाली, इन्डियन, कन्टिनेन्टल तथा चाइनिज खानाका विभिन्न स्वाद उपलब्ध छन्।
साथै विवाह, व्रतबन्ध, जन्मोत्सव लगायत पारिवारिक कार्यक्रमका लागि सुविधासम्पन्न हलको व्यवस्था गरिएको छ भने सभा, सेमिनार तथा बैठकका लागि समेत सर्वसुलभ दरमा सेवा उपलब्ध गराइएको सञ्चालक शिवाकोटीले बताउनुभयो।
स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले रिसोर्टमार्फत १२ भन्दा बढी स्थानीय व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेको जनाइएको छ।
“हामीले ग्रामीण पर्यटनसँगै स्थानीय उत्पादन र स्थानीय जनशक्तिलाई प्राथमिकता दिएका छौं,” शिवाकोटीले भन्नुभयो, “परिवारसँग रमाइलो समय बिताउन चाहनेदेखि युवा पुस्ता र बालबालिकासम्मका आवश्यकता सहज रूपमा पूरा गर्ने वातावरण तयार गरेका छौं।”
रिसोर्टमा प्रत्येक हप्ता सांस्कृतिक कार्यक्रम तथा स्टेज प्रस्तुति आयोजना गरिने योजना समेत रहेको छ, जसले आन्तरिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
बिर्तामोडबाट दक्षिणतर्फ बिर्ताबजार हुँदै हल्दीबारी जाने सडकबाट करिब दुई किलोमिटर दूरीमा रहेको रिसोर्ट शान्त र प्राकृतिक वातावरणमा अवस्थित छ।
रिसोर्टमा रेस्टुरेन्ट, लज तथा अन्य विविध सेवा–सुविधा उपलब्ध भएकाले एकपटक परिवारसहित भ्रमण गर्न सञ्चालक शिवाकोटीले आग्रह गर्नुभएको छ।














