माेफसल समाचार, झापा । झापाका दुई फरक स्थानमा भएका सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । गएराति दमक र अर्जुनधारामा भएका दुर्घटनामा परी एक मोटरसाइकल चालक र एक साइकलयात्री घाइते भएका हुन् ।

दमकमा मोटरसाइकल दुर्घटना गएराति १२ बजे दमक–७ श्रीपाली चोकस्थित भित्री सडक खण्डमा श्रीपाली चोकबाट पशुहाटतर्फ जाँदै गरेको प्र१–०२–०५७ प ७९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक भोजपुरका ३९ वर्षीय रबिचन्द्र गिरी घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्जुनधारामा साइकलयात्रीलाई ठक्कर यसैगरी, शनिश्चरे–बिर्तामोड सडक खण्डको कदमगाछीमा गएराति ८:४५ बजे मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते भएका छन् ।

शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र.१–०१–०१२ प ८०२६ नम्बरको मोटरसाइकलले सोही दिशामा जाँदै गरेका ६१ वर्षीय साइकलयात्री राजकुमार चौधरीलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेका चौधरीको शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ठक्कर दिने मोटरसाइकल र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।