बिर्तामोड, झापा । पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले मुलुकको पर्यटन विकासमा चलचित्र क्षेत्रले अत्यन्तै प्रभावकारी र शक्तिशाली भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ।

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशद्वारा शुक्रबार झापाको बिर्तामोडमा आयोजित ‘चलचित्र, पर्यटन र पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

प्रमुख अतिथिको आसनबाट बोल्दै खतिवडाले छिमेकी भारतीय राज्य सिक्किममा आयोजित फिल्म फेस्टिबलको आफ्नो अनुभव सुनाउँदै नेपाली चलचित्रलाई विदेशी भाषामा अनुवाद वा सबटाइटल राखेर अन्तर्राष्ट्रिय बजारमा लैजान सके पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने उल्लेख गर्नुभयो।

689692539_1345664301022062_6770101384090741949_nउहाँले राष्ट्रलाई समृद्ध बनाउन कृषि, पर्यटन, जलस्रोत र डिजिटल क्षेत्रको विकास अनिवार्य रहेको बताउँदै निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले नयाँ पर्यटन नीतिका बारेमा घनीभूत छलफल गरिरहेको समेत जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले राज्यले चलचित्र क्षेत्रलाई पर्याप्त प्राथमिकतामा नराखेको भन्दै आपत्ति जनाउनुभयो।

691630033_1345664557688703_1002043243073344744_nचलचित्र विकास बोर्ड समेत चलचित्र विकास शुल्कको भरमा चल्नुपर्ने बाध्यता रहेको सुनाउँदै उहाँले भारतको सिक्किम, बंगाल, आसाम र भुटान जस्ता नेपाली भाषी क्षेत्रमा सिनेमाको बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो।

त्यसैगरी, चलचित्रकर्मी संघका केन्द्रीय सदस्य मिजास पोखरेलले नेपालको ५३ प्रतिशत फिल्म बजार नेपाली चलचित्रले नै धानेको तथ्यांक प्रस्तुत गर्दै नेपाली कथालाई विश्व पर्यटनसँग जोड्नुपर्ने धारणा राख्नुभयो।

यस्तै, नेपाल चलचित्र निर्माता संघका केन्द्रीय सदस्य युवराज गिरीले एउटा चलचित्र निर्माणका क्रममा ठूलो जनशक्ति परिचालन हुने भएकाले यसले आन्तरिक पर्यटन र रोजगारी सिर्जनामा प्रत्यक्ष योगदान दिइरहेको चर्चा गर्नुभयो।

उहाँले चलचित्र, पर्यटन र पत्रकारिता एक अर्काका परिपूरक भएको समेत बताउनुभयो।

चलचित्र पत्रकार संघ कोशीका इन्चार्ज नरेन्द्र बस्नेत र अध्यक्ष वीरेन्द्रकुमार साहले पत्रकारिताले मनोरञ्जनका साथै कला, साहित्य र पर्यटनको प्रबर्द्धनमा समेत कलम चलाइरहेको बताउनुभयो।

उहाँहरूले कोशी प्रदेशमा चलचित्र छायांकनका गतिविधि बढिरहेकाले सरकारले चलचित्र क्षेत्रलाई पर्यटनसँग जोड्ने विशेष प्रावधान ल्याउनुपर्ने माग गर्नुभयो।

सोही अवसरमा संघको कोशी प्रदेश सदस्यमा मनोनित सुनिरा मैनाली र शिव भट्टराईलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अतिथिहरूलाई ‘चलचित्र पत्रकार’ र पत्रकार तीर्थ सिग्देलको ‘त्यो झापा’ पुस्तक मायाको चिनो स्वरूप प्रदान गरिएको थियो।

संघका कोशी प्रदेश उपाध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल फिल्म सोसाइटी कोशीका अध्यक्ष देवीभक्त श्रेष्ठ, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे, वीरता जेसीजका अध्यक्ष एलसी श्रेष्ठ लगायत विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

संघका झापा अध्यक्ष एकराज प्रधानले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कोशी प्रदेश सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष प्रदीप परियार, नयाँ पेपरका अध्यक्ष निर्मलराज खत्री तथा नाटा वरिष्ठ उपाध्यक्ष शेखर ढकाललगायतको उपस्थिति रहेको थियो ।