इलाम । इलामको सुर्योदय नगरपालिका वडा नं. ६ निवासी रुषा भुजेलको जीवन रक्षाका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ। विगत १३ वर्षदेखि मृगौलासम्बन्धी घातक रोग 'एस.एल.ई.' (Systemic Lupus Erythematosus) बाट पीडित रुषाका हाल दुवै मृगौला फेल भएपछि परिवार ठूलो आर्थिक संकटमा परेको हो।

लामो समयदेखि रोगसँग लड्दै आएकी रुषाको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको परिवारले जनाएको छ।

उनका बुबा डुक राज भुजेलका अनुसार विगत पाँच वर्षदेखि रुषाको नियमित डायलोसिस गराउँदै आए पनि स्वास्थ्यमा उल्लेखनीय सुधार हुन सकेको छैन। हाल दुवै मृगौलाले काम गर्न छोडेपछि चिकित्सकहरूले उनलाई बचाउन तत्काल मृगौला प्रत्यारोपण (Kidney Transplant) नै अन्तिम विकल्प भएको सुझाव दिएका छन्।

विगत १३ वर्षदेखि निरन्तर औषधी र उपचारमा संलग्न रहँदा परिवारको सम्पूर्ण जायजेथा र आर्थिक स्रोत सकिसकेको छ। अहिले मृगौला प्रत्यारोपणका लागि लाग्ने ठूलो रकम जुटाउन परिवारलाई निकै धौ-धौ परेको छ।

एकातिर छोरीको खस्कँदो स्वास्थ्य र अर्कोतिर उपचार खर्चको अभावले भुजेल परिवार यतिबेला निकै विक्षिप्त बनेको छ।

 जनहितमा जारी

उपचारका लागि ठूलो आर्थिक खर्च लाग्ने भएकाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो आर्थिक सहयोग गरी रुषाको जीवन बचाउन परिवारले हार्दिक अनुरोध गरेको छ।

थोरै-थोरै सहयोगले पनि एक जना बिरामीको जीवन बच्न सक्ने भन्दै सहयोग गर्न चाहने महानुभावहरूले परिवारको सम्पर्क नम्बर ९८१३०५५३८५ वा बिरामी रुषा भुजेलको मोबाइल नम्बर ९८१४९७९६०४ मा सिधै सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।