भरत राज प्रसाई, 

 बिर्तामोड । झापाको मुटु र बिर्तामोडको प्रमुख चिनारीको रूपमा रहेको ऐतिहासिक ‘मुक्तिचोक’ स्तम्भ आइतबारदेखि इतिहासको पानामा सीमित भएको छ।

एसियन हाइवे (एशियाली राजमार्ग) विस्तारका क्रममा सडकको बीच भागमा पर्ने भएपछि झण्डै १७ वर्ष पुरानो यो भावनात्मक संरचनालाई क्रेन र डोजरको प्रयोग गरी भत्काइएको हो।

विकासको लहरले सहरको स्वरूप बदल्दै गर्दा बिर्तामोडको यो प्रमुख पहिचान ढल्दा धेरै स्थानीय, राजनीतिकर्मी र नागरिक समाज भावुक बनेका छन्।

मुक्तिचोक स्तम्भ केवल ढुङ्गा, बालुवा र सिमेन्टको संरचना मात्र थिएन। यो त वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा रगत पसिना बगाउने वीर नेपाली जनता र देशका लागि प्राण आहुति दिने शहीदहरूको जीवन्त स्मृति थियो।

लोकतन्त्र प्राप्तिको त्यो कठिन सङ्घर्षलाई भावी पुस्ताले नबिर्सियोस् भन्ने उद्देश्यले यसको परिकल्पना गरिएको थियो।

वि.सं. २०६६ साल वैशाख ६ गते तत्कालीन प्रधानमन्त्री एवं प्रजातन्त्रका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले यसको भव्यताका साथ उद्घाटन गर्नुभएको थियो।

गोपालकुमार बस्नेतको अध्यक्षतामा रहेको 'जनआन्दोलन स्मृति प्रतिष्ठान' द्वारा निर्माण गरिएको यो स्तम्भले लामो समयसम्म बिर्तामोडलाई देशव्यापी रूपमा चिनाउने एउटा बलियो 'ल्याण्डमार्क' को रूपमा काम गर्‍यो।

अहिले बिर्तामोड खण्डमा एसियन हाइवे (एशियाली राजमार्ग) नं. २ को काँकडभिट्टा-लौकही सडक स्तरउन्नति कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बजार क्षेत्रमा यो सडक ५० मिटरसम्म फराकिलो बनाउनुपर्ने र सोही स्थानमा आधुनिक फ्लाईओभर वा ट्राफिक संरचनाहरू निर्माण गर्नुपर्ने भएकाले बिर्तामोडको मुटुमा रहेको यो स्तम्भ हटाउनुपर्ने प्राविधिक बाध्यता आइपरेको हो।

सडक विभाग र आयोजना कार्यालयले बिर्तामोडको ट्राफिक चापलाई व्यवस्थित गर्न र अन्तर्राष्ट्रिय कनेक्टिभिटीलाई सहज बनाउन यो कदम चालिएको बताएका छन्।

विकासको यो विशाल परियोजनाले क्षेत्रको आर्थिक समृद्धि ल्याउने विश्वास गरिए पनि एउटा गौरवशाली इतिहास बोकेको स्मारक विस्थापित हुनुलाई स्थानीयले एउटा अपूरणीय क्षतिको रूपमा महसुस गरेका छन्।

मुक्तिचोक स्तम्भ हटेसँगै अब बिर्तामोडको मुख्य चोकमा सडक निकै फराकिलो देखिनेछ। यसअघि चोकको बीचमा स्तम्भ हुँदा सवारी साधनको मोड र ट्राफिक व्यवस्थापनमा केही चुनौती हुने गरेको थियो।

अबको नयाँ संरचनामा आधुनिक ट्राफिक लाइट र व्यवस्थित सडक सञ्जालले बिर्तामोडलाई एउटा 'स्मार्ट सिटी' को स्वरूप दिने अपेक्षा गरिएको छ।

१७ वर्षअघि गिरिजाप्रसाद कोइरालाले बालेको लोकतन्त्रको त्यो प्रतीकात्मक ज्योति अब आधुनिक बिर्तामोडको नयाँ स्वरूपमा रूपान्तरण हुँदैछ।

स्तम्भ भत्काउँदै गर्दा चोकमा भेला भएका स्थानीयहरूले स्तम्भको ऐतिहासिकतालाई नमार्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

"भौतिक संरचना त भत्कियो, तर शहीदहरूको सम्मान र जनआन्दोलनको भावना कहिल्यै भत्किनु हुँदैन," एक स्थानीयले भावुक हुँदै भने।

नागरिक समाजले सडक किनारको कुनै पार्क वा उपयुक्त सार्वजनिक स्थानमा यो स्तम्भको पुन: निर्माण गरेर शहीदहरूको योगदानलाई सम्मान जीवितै राख्न माग गरेका छन्।

जनआन्दोलन स्मृति प्रतिष्ठानले पनि यस विषयमा स्थानीय सरकार र सडक आयोजनासँग समन्वय गरिरहेको बुझिएको छ।

बिर्तामोडको पहिचानको रूपमा रहेको यस स्तम्भको विकल्पमा कुनै नयाँ स्मारक वा शहीद उद्यान बनाइनुपर्नेमा सबैको एकमत देखिन्छ।