बिर्तामोड, झापा
इडेन गार्डेन सेकेन्डरी बोर्डिङ स्कुलले कक्षा १२ का विद्यार्थीहरूलाई मायाँ, सम्मान र शुभकामनासहित भावुक वातावरणमा बिदाइ गरेको छ।
विद्यालय परिसरमा आयोजित औपचारिक समारोहमा विद्यार्थीका सम्झना, शिक्षकका प्रेरणादायी भनाइ तथा शुभकामना आदानप्रदानले कार्यक्रम थप आत्मीय बनेको थियो।
विद्यालयका प्रिन्सिपल मोहन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बालबालिका सञ्चार मञ्च झापाका संयोजक एवं लिङ्कन मन्टेश्वरी विद्यालयका सञ्चालक सरोज पौडेल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका भाइस –प्रिन्सिपल खेमराज आचार्यले विद्यालयबाट उतीर्ण भई जान लागेका १६ जना विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले विद्यार्थी र अभिभावकको निरन्तर साथले नै कक्षा १२ सम्मको शैक्षिक यात्रा सहज भएको बताउँदै भन्नुभयो, “जीवनका वास्तविक चुनौतीहरू अब सुरु भएका छन्, त्यसैले अत्यन्तै संयमित र धैर्यताका साथ आफ्नो लक्ष्यमा अघि बढ्न म आग्रह गर्दछु।”
सो अवसरमा प्रमुख अतिथि पौडेल, प्रिन्सिपल आचार्य र सीइओ महिप आचार्यले विदाई भई जाने विद्यार्थीहरूलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्दै सुखद भविष्यको कामना गर्नुभएको थियो।
विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै रश्ना सिटौलाले विगत १५ वर्षदेखि यसै विद्यालयमा अध्ययन गर्दा आफूले कहिल्यै तनाव महसुस नगरेको र गुरुवर्गको मार्गदर्शनले गर्दा पारिवारिक वातावरणमा आफ्नो विद्यालय जीवन बितेको अनुभव सुनाउनुभयो।
अर्का विद्यार्थी प्रिन्स शङ्करले जीवनमा शिक्षाको महत्व र व्यावहारिक ज्ञानको बोध आफूलाई यही विद्यालयले गराएको बताउनुभयो।
प्रमुख अतिथि सरोज पौडेलले विद्यार्थीहरूलाई सम्बोधन गर्दै अरूको देखासिखी नगरी आफूभित्रकै मौलिक पहिचान खोज्न सुझाव दिनुभयो।
उहाँले भन्नुभयो, “समाजले तपाईंहरूलाई खोज्ने गरी आफ्नो परिचय स्थापित गर्नुहोस्, आफ्नो विवेक प्रयोग गरेर निरन्तर सङ्घर्षमा जुट्नुहोस्।”
कार्यक्रमका अध्यक्ष एवं प्रिन्सिपल मोहन आचार्यले भावुक हुँदै विद्यार्थीहरूलाई प्रमाणपत्र मात्र नभई जीवनोपयोगी सीप हासिल गर्न आग्रह गर्नुभयो।
“सानैमा सिँगान पुछ्दै विद्यालय छिरेका नानीहरू आज युवा भएर बिदाइ हुँदा मन भारी भएको छ,” उहाँले थप्नुभयो, “यो प्रतिस्पर्धाको युग हो, त्यसैले आफ्नो रुचि र क्षमतालाई निखार्नुहोस्। तपाईंहरू विश्वको जुनसुकै कुनामा पुगे पनि इडेन गार्डेनको होनहार विद्यार्थीका रूपमा चिनिनुहुनेछ भन्ने हाम्रो विश्वास छ।”
कार्यक्रममा मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, शिक्षक पूजन आचार्य, विद्यालयका प्रबन्ध निर्देशक महिप आचार्य लगायत शिक्षक–शिक्षिका एवं कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका कार्यक्रम कोर्डिनेटर गीताराम आचार्यले गर्नुभएको थियो।














