झापा । गैरादह नगरपालिकालाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधारा नगरपालिले सुरुङ्गामा जारी कन्काई कपमा फुटबल प्रतियोगितामा शान्दार विजयी सुरुवात गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सुरुङ्गा स्थित कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलमा आज अर्जुनधाराले फराकिलो गोल अन्तरको जित निकालेको हो । अर्जुनधाराको जितको लागि निखिल तामाङ एक्लैले ४ गोल गरे । बच्चन लिम्बु, राजेश दाहाल र निशान बस्नेतको समान १/१ गोलको मद्धतमा अर्जुनधाराले शानदार जित निकालेको हो ।
ह्याटि्रकसहित ४ गोल गरेर उत्कृष्ट प्रदर्शन गरेका निखिल खेलको ‘म्यान अफ दि म्याच’ भए । उनले नगद २१ सय रुपैयाँ पुरस्कार पाए ।
यो जितसंगै अर्जुनधाराले प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको छ । पुर्वराष्ट्रिय खेलाडी देवेन्द्र तामाङसहित मैदान उत्रिएको अर्जुनधारा प्रतियोगिताको उपाधी दाबेदार टिम हो ।
प्रतियोगितामा झापाका १२ वटा पालिकाले सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख २० हजार प्राप्त गर्ने छ भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।














