विर्तामोड, झापा । वि.सं. २०४५ सालमा स्थापना भई झापाको शैक्षिक क्षेत्रमा एक स्थापित नाम बनाउन सफल ईडन गार्डेन एजुकेशन फाउण्डेशनले शैक्षिक सत्र २०८२ को एसईई (SEE) परीक्षामा लोभलाग्दो नतिजा हासिल गरेको छ।
पछिल्लो समय शैक्षिक गुणस्तर र पूर्वाधारमा उल्लेख्य प्रगति गर्दै आएको यस विद्यालयले यस वर्ष पनि आफ्नो बिरासतलाई थप मजबुत बनाएको हो।
यस वर्षको एसईई परीक्षामा विद्यालयबाट जम्मा ३९ जना विद्यार्थीहरू सहभागी भएकोमा विद्यालयले शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। जसमध्ये मेधावी छात्र इरोज शिवाकोटीले ४ जीपीए (4.0 GPA) प्राप्त गरी विद्यालयको गरिमालाई उच्च बनाएका छन्।
विद्यालय प्रशासनका अनुसार १५ जना विद्यार्थीले ए प्लस (A+), १५ जनाले ए (A) र ८ जना विद्यार्थीले बी प्लस (B+) ग्रेड प्राप्त गर्दै उत्कृष्ट सफलता दर्ता गरेका हुन्।
भव्य कार्यक्रमका बीच विद्यार्थीलाई सम्मान
यो गौरवमय अवसरमा विद्यालयले आजै विद्यार्थीहरूको सम्मान र उत्साह अभिवृद्धिका लागि एक विशेष शुभकामना कार्यक्रमको आयोजना गरेको छ।
विद्यालयका प्रधानाध्यापक मोहन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सिईओ (CEO) महिप आचार्य, सहायक प्रधानाध्यापक खेमराज शर्मा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अभिभावकहरू मेनुका पाठक, किरण थापा र सम्झना मैनालीको समेत आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सहायक प्रिन्सिपल खेमराज शर्माले विद्यालयको अथक प्रयास, विद्यार्थीको कडा परिश्रम र अभिभावकको पूर्ण समर्पणका कारण यो सफलता सम्भव भएको बताउनुभयो।
उहाँले यो नतिजाले विद्यालय परिवारलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
छात्रवृत्ति र शैक्षिक भ्रमण कोषको घोषणा विद्यार्थीको हौसला बढाउन प्रिन्सिपल मोहन आचार्यले विशेष घोषणा समेत गर्नुभएको छ।
उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई आगामी अध्ययनका लागि आकर्षक छात्रवृत्ति प्रदान गर्ने र कक्षा ११ तथा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूको चौतर्फी विकासका लागि ‘शैक्षिक भ्रमण कोष’ स्थापना गरिने जानकारी दिनुभयो।
त्यसैगरी, ४ जीपीए ल्याउन सफल विद्यार्थी इरोज शिवाकोटीले विद्यालयको सही मार्गदर्शन र वातावरणकै कारण आफूले यो सफलता पाएको बताउँदै कक्षा ११ मा पनि सोही विद्यालयमा अध्ययन गर्ने बताए ।
कार्यक्रममा विद्यालय संयोजक गीताराम आचार्यले ईडन गार्डेनले विद्यार्थीको शैक्षिक गुणस्तर र सर्वपक्षीय विकासमा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले उत्कृष्ट शैक्षिक वातावरण र नतिजाका कारण थप उच्च शिक्षाका लागि ईडन गार्डेन नै सबैको रोजाइ बन्नेमा विश्वास व्यक्त गर्नुभयो।














