काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा सक्रिय रूपमा अरूका फिल्मलाई साथ दिँदै आएकी अभिनेत्री वर्षा राउत आफ्नै फिल्म प्रदर्शन भइरहेका बेला भावुक बनेकी छन्।
उनले सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै फिल्म ‘मालती मंगले’ ले अपेक्षित साथ नपाएको भन्दै गुनासो गरेकी हुन्।
आँशुले भरिएका आँखासहित सार्वजनिक भिडियोमा वर्षाले आफूले सधैं सहकर्मी कलाकार र फिल्मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएको उल्लेख गर्दै आफ्नै फिल्मका बेला भने साथ दिनेहरू कम देखिएको अनुभूति सुनाएकी छन्। उनले आफूलाई माया गर्ने दर्शकप्रति भने धन्यवाद व्यक्त गरेकी छन्।
वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र मालती मंगले मा वर्षासँगै विजय बराल र मेक्सन गौडेल को मुख्य अभिनय रहेको छ। फिल्ममा वर्षाको अभिनयको प्रशंसा भइरहे पनि व्यापारिक रूपमा भने अपेक्षाअनुसार दर्शक तान्न नसकेको चर्चा छ।
गायक रामकृष्ण ढकाल को डेब्यु लगानी रहेको उक्त फिल्म रिलिजअघि नै विवादमा तानिएको थियो। एक अन्तर्वार्तामा उनले रवि लामिछाने लाई जेलबाट निस्किएपछि आफूले गाडीमा राखेर लगेको बताएका थिए।
सो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना चुलिएको थियो भने केही समूहले फिल्म बहिष्कार अभियानसमेत चलाएका थिए।














