झापा । मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लाबाट ४८ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको छ । वर्षायाम नजिकिँदै जाँदा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका नागरिकलाई सुरक्षित आश्रयमा पुर्‍याउने उद्देश्यले अभियानलाई तीव्र बनाइएको हो ।

उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जना, मोरङबाट सात जना तथा सुनसरीका विभिन्न स्थानबाट ३२ जनाको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी ले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्धार गरिएका व्यक्तिहरूलाई मानवसेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको छ । जसमध्ये १५ जनालाई झापा शाखा, १२ जनालाई विराटनगर शाखा तथा २१ जनालाई धरान शाखामा राखिएको छ ।

सडकपेटी, मन्दिर परिसर, सार्वजनिकस्थल तथा खुला आकाशमुनि जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धारमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह भइरहेको अध्यक्ष अधिकारीको भनाइ छ । “वर्षात्को समयमा कसैले सडकपेटीमा रात कटाउन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो,” उहाँले बताउनुभयो ।