झापाको बिर्तामोड–७ स्थित कञ्चन अङ्ग्रेजी बोर्डिङ माध्यमिक विद्यालय ले शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष इन्दिरा अधिकारी बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा कक्षा ९ की विद्यार्थी ओस्बी खनालले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीमैत्री अभ्यासबारे चर्चा गरेकी थिइन्।
२०६४ सालमा स्थापना भएको विद्यालय २०७० सालमा नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएपछि विद्यार्थी सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको विद्यालयले जनाएको छ। सुरुआती चरणमा करिब १३४ विद्यार्थीबाट सञ्चालन गरिएको विद्यालयमा हाल ६५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।
गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुद क्षेत्रमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको विद्यालयले झापा जिल्लामै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको कार्यक्रममा वक्ताहरूले बताएका थिए।
कार्यक्रममा बोल्दै शिक्षक अभिभावक सङ्घका निवर्तमान अध्यक्ष श्याम पक्वालले विद्यालयले बालमैत्री शिक्षण अभ्यासलाई प्राथमिकता दिएको अनुभव आफूले नजिकबाट गरेको बताए।
आफ्नो तीन कार्यकालमा विद्यालयलाई नजिकबाट नियाल्ने अवसर पाएको उल्लेख गर्दै उनले विगतको तुलनामा विद्यालय अहिले शैक्षिक, भौतिक तथा व्यवस्थापकीय रूपमा अझ सक्षम र सबल बनेको प्रतिक्रिया दिए।
त्यसैगरी शिक्षक अभिभावक सङ्घकी अध्यक्ष रुक्मिता दाहालले विद्यालय, अभिभावक, शिक्षक तथा स्थानीय शैक्षिक सरोकारवालाबीचको सहकार्यले मात्रै उत्कृष्ट र विद्यार्थीमैत्री वातावरण निर्माण हुने बताइन्। उनले विद्यालयले प्रदान गरिरहेको शिक्षा अत्यन्तै प्रशंसनीय रहेको धारणा राखिन्।
कार्यक्रमका बीच विभिन्न कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कक्षा ४ बाट ५ मा जाँदा विद्यालय प्रथम बनेकी प्रियषा आचार्य, कक्षा ६ बाट ७ मा जाँदा द्वितीय बनेकी आर्जु टुडु तथा कक्षा २ बाट ३ मा जाँदा तृतीय बनेकी समृद्धि चम्लागाईलाई विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बास्कोटा र प्रधानाध्यापक दीपक चम्लागाईले संयुक्त रूपमा अविर लगाई पुरस्कार प्रदान गरेका थिए।
विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका ८७ जना प्रथम, द्वितीय तथा तृतीय हुने छात्र–छात्रालाई सम्मान गरेको थियो। साथै सरसफाइ, उत्कृष्ट हाजिरी लगायत विविध विधामा उत्कृष्ट विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक डिल्ली चम्लागाईले धन्यवाद ज्ञापन गर्दै विद्यालयले सधैँ विद्यार्थीमैत्री सिकाइ पद्धतिलाई प्राथमिकतामा राख्दै आएको बताए।
यसैबीच हरिकृष्णमाया अक्षयकोषका दाता कृष्णमाया पक्वालले कक्षा ८ बाट ९ मा जाँदा उत्कृष्ट अंक ल्याउने छात्रा सुस्मिता बराइलीलाई अक्षयकोषबाट प्राप्त ब्याज उत्प्रेरणा स्वरूप प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।














