भरत प्रसाई
मुगु, जेठ ३ ।
भू-स्वर्गको उपमा पाएको नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्लो नौ महिनाको अवधिमा मात्रै साढे १३ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले राराको अवलोकन गरेका छन्।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा कुल १३ हजार ५४५ जना पर्यटक रारा पुगेका छन्।
निकुञ्जका अनुसार रारा घुम्ने उपयुक्त सिजन सुरु भएसँगै पछिल्ला दिनहरूमा पर्यटकको चाप निकै बढेको हो। रारा पुग्ने पर्यटकहरू हवाई र सडक दुवै मार्गको प्रयोग गर्दै आउने गरेका छन्।
समुद्री सतहदेखि २ हजार ९०० मिटर उचाइमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा ताल पछिल्लो समय आन्तरिक पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेको छ। रारा ताल डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष विष्णुबहादुर रावलका अनुसार हिजोआज दैनिक डेढ सय जनासम्म आन्तरिक पर्यटकहरू तालको अवलोकनका लागि आउने गरेका छन्।
बाह्य पर्यटकको तुलनामा नेपाली पर्यटकहरूकै कारण रारा क्षेत्र सधैँ गुल्जार बन्ने गरेको अध्यक्ष रावलले बताए।
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन थालेपछि रारा भ्रमणमा आउनेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ।
देशका प्रमुख सहरहरू काठमाडौँ, पोखरा, चितवन, नेपालगन्ज र सुर्खेतबाट पर्यटकहरू समूह बनाएर बस तथा गाडी रिजर्भ गरी रारा आउने क्रम बढेको छ। पर्यटकको यो ओइरोसँगै रारा क्षेत्रमा सञ्चालित होटलहरू पनि अहिले भरिभराउ हुन थालेका छन्, जसले स्थानीय पर्यटन व्यवसायीहरूमा उत्साह थपेको छ।
सडक मार्गबाट रारा तालको मुख्य प्रवेशद्वारसम्म पुगेपछि त्यहाँबाट तालको किनारसम्म पुग्न पर्यटकहरूका लागि ८० वटा घोडाहरूको व्यवस्था गरिएको छ। हिँड्न गाह्रो हुने वा आरामदायी यात्रा चाहने पर्यटकहरूका लागि यो घोडाको व्यवस्थाले यात्रा निकै सहज र आनन्ददायी बनाएको व्यवसायीहरू बताउँछन्।
मौसम सफा भएसँगै नीलो रारा र यसको वरिपरि देखिने हरियालीले अहिले रारा पुग्ने जो-कोहीलाई पनि मन्त्रमुग्ध बनाउने गरेको छ।














