युनिटी युथ क्लब बुद्धशान्ति–४ को आयोजनामा सञ्चालन भएको तेस्रो बुद्धशान्ति च्यालेन्ज कप २०८३ को उपाधि शनिश्चरे एफ.सी ले उचालेको छ ।

वर्ने वर्कसप खेल मैदानमा सम्पन्न भव्य फाइनल खेलमा शनिश्चरे एफ.सी ले धुलाबारी एफ.सी लाई ३–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

IMG_7368

शनिश्चरे एफ.सी का निलो जर्सी नम्बर ६ का दुर्लभ तिवारीले खेलको १८औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान तथा जर्सी नम्बर १९ का देवेन्द्र तामाङले २३औँ मिनेटमा दोस्रो गोल थपे भने जर्सी नम्बर १७ का निखिल तामाङले ३७औँ मिनेटमा अर्को गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे ।

प्रतियोगिताको विजेता शनिश्चरे एफ.सी ले नगद ७० हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता धुलाबारी एफ.सी ले नगद ३५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । फाइनल खेलको “म्यान अफ दि म्याच” शनिश्चरे एफ.सी का कप्तान देवेन्द्र तामाङ घोषित भए ।

IMG_7367

भव्य समापन समारोहबीच सम्पन्न कार्यक्रममा आयोजक युनिटी युथ क्लबका अध्यक्ष डिल्ली माबोको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष एवं खेलकुद विकास समिति संयोजक पर्शुराम चेम्जोङ, स्थानीय समाजसेवी तथा राजनीतिकर्मी बोदाराज दाहाल, असिम, चक्र शेर्मा, सम्पुर्णी लिम्बू, इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउत, सुरेन्द्र दनुवार लगायतको उपस्थिति रहेको थियो ।

IMG_7474

त्यसैगरी विशिष्ट अतिथिहरूमा राजेन्द्र राई, हरीकुमार पुरी, राजन मादेन, तिलक पाख्रीन, वडा सदस्यहरू ऐतबहादुर सावाँ, दुर्गा पोख्रेल ढुङेल, मोहन माबोलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी रहेका थिए । अतिथिहरूले संयुक्त रूपमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

IMG_7378

गत वैशाख २५ गतेदेखि सुरु भएको प्रतियोगितामा खेल अवधिभर उल्लेख्य स्थानीय तथा बाह्य दर्शकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । “खेलकुदले सन्देश दिन्छ, एकता र सद्भावमा जित हुन्छ” भन्ने नारासहित सञ्चालन गरिएको प्रतियोगिताले स्थानीय क्षेत्रमा खेलकुद विकाससँगै युवाबीच एकता र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।