बिर्तामोड । भरत प्रसाई
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने सन्देशलाई आत्मसात गर्दै झापाको बिर्तामोड मा सम्पन्न प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता २०८३ को पुरुषतर्फको उपाधि वडा नम्बर ३ ले जितेको छ।
गरामुनिस्थित दुर्गा माध्यमिक विद्यालय को खेलमैदानमा अाज सम्पन्न रोमाञ्चक फाइनल खेलमा वडा नम्बर ५ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नम्बर ३ ले विजयी ट्रफिमाथि कब्जा जमाएको हो।

बिर्तामोड वडा नम्बर ९ वडा खेलकुद विकास समितिका अध्यक्ष विश्वदिप राजवंशीको अध्यक्षतामा सम्पन्न फाइनल खेलमा पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नगरप्रमुख प्रसाईले पानसमा दीप प्रज्वलन गर्दै अफिसियल भलिबल हिर्काएर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।
दर्शकको बाक्लो उपस्थितिबीच सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ ले सुरुदेखि नै आक्रामक र संयमित खेल प्रस्तुत गरेको थियो।
बेस्ट अफ फाइभको आधारमा खेलाइएको प्रतिस्पर्धामा वडा नम्बर ५ ले केही समय खेलमा दबाब सिर्जना गरे पनि वडा नम्बर ३ को उत्कृष्ट टिमवर्क र रणनीतिक खेल अगाडि टिक्न सकेन।
यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ८ लाई हराउँदै फाइनल यात्रा तय गरेको थियो भने दोस्रो सेमिफाइनलमा वडा नम्बर ५ ले वडा नम्बर ६ माथि जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको थियो।
प्रतियोगितामा वडा नम्बर ३ का खेलाडी भरत यादव उत्कृष्ट खेलाडी घोषित भए।
उनले नगद ३ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।
त्यसैगरी वडा नम्बर ५ का जीवन दाहाल बेस्ट डिफेन्स घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्रबाट सम्मानित भए।
वडा नम्बर ३ का कुलबहादुर थापा बेस्ट सटर तथा वडा नम्बर ५ का प्रदीप कट्टेल बेस्ट स्पाइकर घोषित भए।
प्रतियोगिताको विजेता वडा नम्बर ३ ले नगद १ लाख १ हजार १ रुपैयाँसहित स्वर्णिम ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको वडा नम्बर ५ ले नगद ५१ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ।
प्रतियोगिताले बिर्तामोडमा खेलकुद गतिविधिप्रति युवाको आकर्षण बढाउनुका साथै वडा–वडाबीचको आपसी सद्भाव, सहकार्य र खेल संस्कृतिलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।














