बिर्तामोड । पूर्वका दर्शक भेट्न चलचित्र ‘लालीबजार’को टिम झापा आइपुगेको छ । मंगलबार झापाको बिर्तामोड र दमकका हलहरूमा पुगेर अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, र कार्यकारी निर्माता प्रदीप भट्टराई लगायतको टिमले दर्शकसँग प्रत्यक्ष भेटघाट गरी प्रतिक्रिया लिएका छन् ।
बिर्तामोडको क्युएफएक्स (QFX) सिनेमामा दर्शकको प्रतिक्रिया लिएपश्चात पत्रकारसँगको संक्षिप्त भेटघाटमा निर्माता प्रदीप भट्टराईले देशभरका दर्शकबाट फिल्मले अत्यन्तै माया पाएको बताए । "दर्शक कथामा पूरै डुब्नुभएको छ, यसमा रहेका हरेक पात्रहरूसँग मनैदेखि जोडिनुभएको पायौँ," निर्माता भट्टराईले भने । खासगरी फिल्ममा देखाइएको आमाछोरीको कथालाई दर्शकले अत्यन्तै मन पराएको उनको भनाइ थियो । उनले सुरुवाती दिनमा फिल्म रोकिएको समाचार जसरी फैलियो, रिलिज भएको खबर त्यसरी दर्शकसम्म नपुग्दा सुरुका दिनमा व्यापारमा केही कम असर परेको समेत उल्लेख गरे ।
त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले आफूले ‘लालीबजार’मा निर्वाह गरेको 'मधुवाला'को क्यारेक्टरलाई दर्शकले निकै रुचाइदिएकोमा खुसी व्यक्त गरिन् ।
उनले भनिन्, "यो किसिमको एप्रिसिएसन मैले अरू क्यारेक्टर गर्दा पाएकी थिइनँ, सम्पूर्ण दर्शकप्रति आभारी छु ।" बादी समाजलाई बुझ्न आफूहरूले गरेको रिसर्च, त्यहाँको मनोविज्ञान र त्यसले पार्ने प्रभावको बारेमा अगुवाहरूसँग धेरै छलफल भएको स्मरण गर्दै उनले प्रदर्शनको तीन दिनअघि भोग्नुपरेको कानुनी वा प्राविधिक समस्याप्रति भने केही दुखेसो व्यक्त गरिन् ।
यसै क्रममा निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले चलचित्रले हालसम्म ४ करोड २९ लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको जानकारी दिए । फिल्ममा आफ्नो संवाद अत्यन्तै कम भए पनि दर्शकमाझ गहिरो छाप छोड्न आफ्नो पात्र सफल भएकोमा उनले खुसी प्रकट गरे । ‘लालीबजार पार्ट २’ पनि आउँछ कि आउँदैन भन्ने सञ्चारकर्मीको सवालमा उनले थपे, "बादी समुदायभित्र यति धेरै कथाहरू रहेछन्, पाँच वटा फिल्म बनाउँदा पनि ती कथाहरू अटाउन सकिँदैन ।"
झापा आइपुगेको ‘लालीबजार’को टिमलाई क्युएफएक्स सिनेमा हल बिर्तामोडका सञ्चालक मिजास पोखरेलले स्वागत गरेका थिए । यम थापाको निर्देशनमा बनेको यस चलचित्रले बादी समुदायले भोग्नुपरेको दर्दनाक पीडा र सामाजिक यथार्थको कथालाई पर्दामा उतारेको छ ।
शैक्षिक चेतनाबाटै समाजको हरेक अँध्यारो पक्षलाई चिर्न सकिन्छ भन्ने बलियो सन्देश दिएको यस फिल्ममा आमाबुबाले छोरीको उज्ज्वल भविष्यका लागि गरेको संघर्ष र यसको प्रस्तुति शैलीलाई हलमा पुग्ने अधिकांश दर्शकले रुचाएका छन् ।














