भद्रपुर, झापा
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ मा सञ्चालनमा रहेको ग्यालेक्सी इङ्लिस स्कुल यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट जीपीए हासिल गर्दै भद्रपुर नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ।
विगतदेखि नै निरन्तर शैक्षिक गुणस्तर, कडा अनुशासन र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै आएको विद्यालयको यस प्रयासलाई यस वर्षको सुखद नतिजाले पुनः प्रमाणित गरिदिएको छ।

यसै ऐतिहासिक सफलताको उपलक्ष्यमा विद्यालयले आज एक विशेष पत्रकार सम्मेलन तथा बधाई ज्ञापन कार्यक्रमको आयोजना गरी उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई भव्य सम्मान गरेको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रौनक मित्तलको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा भद्रपुर नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पवित्रा ढकाल प्रमुख अतिथि रहनुभएको थियो।
यस वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी भएका कुल २३ जना विद्यार्थी नै उत्कृष्ट श्रेणीमा उत्तीर्ण भई शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन्। विद्यालयका शैक्षिक कोअर्डिनेटर लक्ष्मण नेपालका अनुसार उत्तीर्ण विद्यार्थीहरूमध्ये:८ जनाले उत्कृष्ट 'ए प्लस' (A+) ग्रेड, १४ जनाले 'ए' (A) ग्रेड, १ जनाले 'बी प्लस' (B+) ग्रेड हासिल गरेका छन्।
उत्कृष्ट ग्रेड ल्याउन सफल सबै विद्यार्थीहरूलाई कार्यक्रमकी प्रमुख अतिथि पवित्रा ढकाल, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, र अध्यक्ष रौनक मित्तल लगायतले संयुक्त रूपमा जनही नगद २५ सय रुपैयाँ, खादा, माला र सम्मानपत्रद्वारा स्वागत तथा सम्मान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं भद्रपुर नगरपालिकाकी शिक्षा शाखा प्रमुख पवित्रा ढकालले ग्यालेक्सी स्कुलले नगरकै उत्कृष्ट जीपीए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर भद्रपुर नगरकै गौरव बढाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो "शतप्रतिशत र उत्कृष्ट नतिजा ल्याउनु जति गौरवको कुरा हो, त्यस ऐतिहासिक साखलाई आगामी दिनमा पनि सदैव कायम राख्नु त्यत्तिकै चुनौतीपूर्ण रहन्छ। ग्यालेक्सी स्कुलले आगामी दिनमा पनि यो गरिमालाई जोगाइराख्नेमा म पूर्ण रूपमा विश्वस्त छु।"
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेले ग्यालेक्सी इङ्लिस स्कुलले विगतका वर्षहरूमा पनि लगातार उत्कृष्ट नतिजा निकाल्दै आफूलाई मोफसलकै एक अब्बल र स्थापित विद्यालयको रूपमा प्रमाणित गरिसकेको उल्लेख गर्नुभयो।
गुणस्तरीय शिक्षाको मामिलामा विद्यालयले आगामी दिनमा पनि कुनै सम्झौता नगर्ने आफ्नो बुझाइ रहेको उहाँले स्पष्ट पार्नुभयो।
विद्यालयका कोअर्डिनेटर लक्ष्मण नेपालले विद्यालयको यो सफलता शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक मिहिनेत, समर्पण र आपसी समन्वयको सुखद परिणाम भएको बताउनुभयो।
यसअघि पनि विद्यालयले वि.सं. २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा भद्रपुर नगरपालिकास्तरमा उत्कृष्ट नतिजा हासिल गर्दै नगरस्तरको गौरव प्राप्त गरिसकेको छ भने कक्षा ५ र कक्षा ८ को नगरपालिका स्तरीय परीक्षामा समेत निरन्तर सर्वोत्कृष्ट उपलब्धि हासिल गर्दै आएको छ।
विगतको इतिहास हेर्दा, वि.सं. २०६९ सालदेखि भद्रपुर नगरपालिका वडा नम्बर ८ को सगरमाथा क्षेत्रबाट सञ्चालन प्रारम्भ भएको यस विद्यालयले वि.सं. २०७३ देखि भद्रपुर–९ मा करिब ७ बिघाको विशाल क्षेत्रफलमा फैलिएको फराकिलो र शान्त वातावरणमा आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधार सहित अध्यापन गराउँदै आएको छ।
विद्यालयका प्रिन्सिपल देवीप्रसाद सुवेदीका अनुसार विद्यार्थीहरूको चौतर्फी र आधुनिक विकासका लागि विद्यालयमा वातानुकूलित (AC) सुविधायुक्त स्मार्ट कक्षाकोठाहरू, पूर्ण प्रविधिमैत्री शिक्षण प्रणाली र डिजिटल सिकाई, खेलकुद, संगीत, कला र विविध अतिरिक्त क्रियाकलापहरू.प्रिन्सिपल सुवेदीले विद्यालयको शिक्षण दर्शनबारे थप प्रष्ट पार्दै भन्नुभयो: "हामीले बालमैत्री र प्रविधिमैत्री शिक्षण सिकााइसँगै 'संस्कारसहितको शिक्षा' मा विशेष जोड दिएका छौँ। विद्यार्थीहरूको भविष्य उज्ज्वल र आधुनिक समय अनुकूल बनाउनका लागि विद्यालय परिवार व्यावहारिक र रोजगारीमुखी शिक्षण सिकाइमा निरन्तर लागिपरेको छ।"
विद्यालयकै शिक्षकद्वारा कुशलतापूर्वक सञ्चालन गरिएको उक्त गरिमामय कार्यक्रममा स्थानीय शिक्षासेवी, बुद्धिजीवी, सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।














