बुद्धशान्ति ७ जेठ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आफ्नो भूमि स्वामित्व प्राप्तिको माग गर्दै वृहत् विरोध र्याली प्रदर्शन गरेका छन्।

'भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, बुद्धशान्ति' को आयोजनामा आज (बिहीबार) आयोजित विरोध र्यालीसँगै टोलीले बुद्धशान्ति गाउँपालिका समक्ष आफ्नो मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ।
"सम्पूर्ण भूमिहीन सुकुम्बासी दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू एक हौं" भन्ने मुख्य नाराका साथ आयोजित र्यालीमा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। र्यालीपछि गाउँपालिका कार्यालय पुगेको संघर्ष समितिको टोलीले स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरूलाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

ज्ञापनपत्रमा वास्तविक सुकुम्बासी, दलित भूमिहीन तथा लामो समयदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासीहरूलाई अविलम्ब कानुनी प्रक्रिया पुर्याएर भूमि स्वामित्व (धनीपुर्जा) प्रदान गर्न जोडदार माग गरिएको छ।
प्रदर्शन र ज्ञापनपत्र बुझाउने क्रममा सहभागीहरूले भूमि अधिकार सुनिश्चित गर्नुपर्ने र भूमिहीनहरूको तत्काल सही पहिचान गरी व्यवस्थापन गरिनुपर्ने जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

लामो समयदेखि थाती रहेको भूमि सम्बन्धी समस्या समाधानका लागि स्थानीय सरकार र सम्बन्धित निकाय संवेदनशील नभएको भन्दै दबाब स्वरूप यो कार्यक्रम गरिएको संघर्ष समितिले जनाएको छ। समितिले आफ्ना मागहरू चाँडै सम्बोधन नगरिए थप सशक्त आन्दोलनका कार्यक्रमहरू अघि सार्ने चेतावनी समेत दिएको छ।














