झापा । अर्जुनधारा नगरपालिकामा वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ ले विजयी सुरुवात गरेको छ।
अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ७ लाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा वडा नं. १ का लागि मनिस राई र बादल राईले एक–एक गोल गरे । खेलको १८औँ मिनेटमा मनिस राईले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ६०औँ मिनेटमा बादल राईले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
वडा नं. ७ का तर्फबाट ३२औँ मिनेटमा संजय भण्डारीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. १ का बादल राई ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, मेयर बलदेवसिंह गोम्दने तामाङ, वडा अध्यक्षहरु उपेन्द्र बस्नेत, गोविन्द खतिवडा र सचिव खगेन्द्र लिङदेनले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले एक औपचारिक समारोहबीच गरेका हुन् ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
आयोजक समितिका सदस्य–सचिव खगेन्द्र लिङ्देनका अनुसार प्रतियोगिता अन्तर्गत भोलि वडा नं. १० र वडा नं. ११ बीच प्रतिस्पर्धा हुनेछ ।
अर्जुनधारा-९ को गोलधाप युवा क्लब सहआयोजकको भुमिकामा रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते सम्पन्न हुनेछ ।














