झापा, ८ जेठ । पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न ‘रोटरी क्लब टावर’ नामक घण्टाघर निर्माण सुरु गरिएको छ । रोटरी क्लब अफ काँकडभिट्टा, कोशी प्रदेश सरकार र भारतको सिलिगुडी उत्तरायण रोटरी क्लबको साझेदारीमा निर्माण हुन लागेको घण्टाघर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
करिब ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको ४० फिट अग्लो घण्टाघरमा पर्यटकले दृश्यावलोकन, सेल्फी तथा भिडियो खिच्न सक्ने सुविधा रहने निर्माण उपभोक्ता समितिका अध्यक्ष उदय श्रेष्ठले बताए । परियोजनाका लागि कोशी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ भने बाँकी रकम रोटरी क्लबहरूले व्यहोर्नेछन् ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले घण्टाघरले काँकडभिट्टा क्षेत्रको सौन्दर्यीकरण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइन् । देवकोटा पार्क व्यवस्थापन समितिले पनि यसले भारतीयसहित विदेशी पर्यटक आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ ।














