मोफसल समाचारदाता
बिर्तामोड, झापा
झापा, जेठ १० । जन्मदिनलाई तडकभडक र खर्चिलो उत्सवका रूपमा मनाउने आधुनिक चलनलाई निरुत्साहित गर्दै बिर्तामोडका एक स्थापित युवा व्यवसायी एवं समाजसेवीले उदाहरणीय कार्य गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्य निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एक क्यान्सर पीडित विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्।

भट्टराईले आफ्नी श्रीमती सुमित्रा भट्टराईसहित आइतबार मेचीनगर नगरपालिका वडा नं. ५ निवासी २७ वर्षीया क्यान्सर पीडित विष्णुमाया राईको घरमै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
क्यान्सरकै कारण केही समयअघि आफ्नो दाहिने खुट्टा गुमाउनुभएकी राईको दयनीय अवस्था बुझेपछि भट्टराई दम्पतीले मानवतामूलक सेवाभावलाई आत्मसात गर्दै नगद २५ हजार रुपैयाँ र साथमा चामल, दाल, खाने तेल लगायतका अत्यावश्यक खाद्यान्न सामग्री प्रदान गरेका छन्।

नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका समाजसेवी भट्टराईले आफ्नो र परिवारका सदस्यहरूको जन्मदिन वा अन्य विशेष अवसरहरूलाई लामो समयदेखि यसरी नै सामाजिक कार्यमा जोडिएर मनाउँदै आएका छन्।
सहयोग हस्तान्तरणपछि बोल्दै भट्टराईले भने— "औपचारिक उत्सवमा फजुल खर्च गर्नुभन्दा पीडितको दुःखमा सानो भए पनि साथ दिनुले वास्तविक आत्मसन्तुष्टि मिल्छ।" उनले विष्णुमायाको उपचारका लागि अन्य मनकारी हातहरूलाई पनि सहयोगको अपिल गरेका छन्।
पीडित विष्णुमाया स्थानीय टोकला चिया बगानमा दैनिक मजदुरी गरेर जीवन धान्दै आएकी थिइन्। तर, अचानक क्यान्सर संक्रमण पुष्टि भएपछि उनको दाहिने खुट्टा काट्नुपर्यो।
अस्पतालका चिकित्सकहरूले क्यान्सर शरीरभरि फैलिन नदिनका लागि तुरुन्तै ‘किमोथेरापी’ सुरु गर्नुपर्ने सुझाव दिएका छन्। तर, चरम आर्थिक अभावका कारण उनी अहिले अस्पताल जान नसकी सानाे फुसको घरमा ओछ्यान परेकी छिन्।

विष्णुमायाको परिवार ऐलानी १३ धुर जग्गामा बस्दै आएको छ। परिवारको अवस्था झन् दर्दनाक छ; उनका पति अनिस राई र ५ वर्षीय छोरा सुगम राई छन् भने ४८ वर्षीया सासुआमा पवित्रा राई समेत विगत केही समयदेखि प्यारालाइसिस (पक्षघात) रोगले थलिएकी छिन्।
चिया बगानको मजदुरी पनि छुटेपछि विगत एक वर्षदेखि यो परिवारमाथि ठूलो संकट आइलागेको छ।
विष्णुमायाको उपचारमा हालसम्म साथीभाइ, छिमेकी र विभिन्न दाताहरूबाट संकलन भएको २ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको पति अनिसले बताए। तर, किमोथेरापी र अगाडिको उपचारका लागि त्यो रकम अपुग भएको छ।
अग्रज पत्रकार मोहनकाजी न्यौपानेमार्फत यस परिवारको मर्माहत अवस्था थाहा पाएपछि व्यवसायी भट्टराईले तत्कालै यो सहयोग पुर्याएका हुन्।
हाल विष्णुमायाको जीवन रक्षा र उपचारका लागि अग्रज पत्रकार न्यौपाने र मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाले विभिन्न संघ-संस्था, सरोकारवाला निकाय र दाताहरूसँग निरन्तर समन्वय र पहल गरिरहेका छन्।














