झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक दिने नि:शुल्क बाल स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। 'सहयोगी मनहरु नेपाल' को आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सम्पन्न शिविरबाट बुद्धशान्ति र आसपासका क्षेत्रका कुल ६२ जना बालबालिकाहरू लाभान्वित भएका छन्।

cfc6fa68-965c-410e-bdbe-c6e721017023शिविरमा कञ्चनजंघा मोडेल हस्पिटल बिर्तामोडको प्राविधिक सहयोग रहेको थियो। बाल रोग विशेषज्ञ डा. प्रमोद कुमार रायसहित ३ जना प्राविधिकको टोलीले बालबालिकाहरूको स्वास्थ्य जाँच गर्नुभएको थियो।

शिविरमा सहभागी बालबालिकाहरूलाई आवश्यक पर्ने सम्पूर्ण औषधिहरू हस्पिटलकै तर्फबाट नि:शुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

स्वास्थ्य परीक्षणका क्रममा बालबालिकाहरूमा मुटुरोग, फोक्सो, थाईराइड र निमोनिया लगायतका स्वास्थ्य समस्याहरू फेला परेको डा. रायले जानकारी दिनुभयो।

जसमध्ये अलि जटिल समस्या देखिएका बालबालिकाहरूलाई थप उपचारका लागि विभिन्न अस्पतालहरूमा रेफर गरिएको छ।

आयोजक संस्थाका अध्यक्ष भिमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो।

92a26529-be15-4655-8ebe-c463464d71aa

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि खतिवडाले सामाजिक संस्थाहरूले गाउँ-गाउँमा पुगेर यस्ता नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु निकै सराहनीय कार्य भएको बताउनुभयो।

बालबालिकाको स्वास्थ्यप्रति स्थानीय सरकार सधैं गम्भीर रहेको उल्लेख गर्दै उहाँले यस्ता परोपकारी अभियानमा गाउँपालिकाले सधैं सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका सचिव विष्णु उप्रेतीले 'सहयोगी मनहरु नेपाल' ले झापा, कोशी प्रदेश लगायत देशका विभिन्न जिल्लाहरूमा निरन्तर मानवीय र सामाजिक सेवाका कार्यहरू गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले ग्रामीण एवं विपन्न बस्तीहरूमा स्वास्थ्य शिविर, विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक वितरण र गरिब परिवारलाई खाद्यान्न एवं कपडा वितरण जस्ता परोपकारी कार्यहरू गर्दै आएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

f51f9719-a96b-415e-af47-188ed2f2c497शिविरमा रेडक्रसका बुधबारे संयोजक पुष्पराज भट्टराई र सचिव टंक निरौला लगायत स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।