झापाको बिर्तामोडस्थित कञ्चन अङ्ग्रेजी बोर्डिङ माध्यमिक विद्यालय मा लोकतान्त्रिक अभ्यासलाई व्यवहारमा उतार्दै विद्यालय क्याप्टेन तथा भाइस क्याप्टेन चयन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारीबोध तथा निर्वाचन प्रक्रियाप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।
निर्वाचनमा विद्यालयका कुल २५६ विद्यार्थीमध्ये २४२ जना विद्यार्थी सहभागी भएका थिए भने १५ जना अनुपस्थित रहेका थिए। सहभागीमध्ये १२४ जना छात्र र ११८ जना छात्रा रहेका थिए।
कुल खसेको २४२ मतमध्ये २२५ मत सदर तथा १७ मत बदर भएको थियो। यससँगै मतदान प्रतिशत ९४ दशमलव १६ प्रतिशत पुगेको विद्यालयले जनाएको छ भने सदर मत प्रतिशत ९२ दशमलव ९७ रहेको थियो।
विद्यालय क्याप्टेन पदका लागि ७ जना विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए। प्रतिस्पर्धी उम्मेदवारहरूमध्ये कक्षा ८ मा अध्ययनरत छात्रा प्रकृति तिम्सिना घडी (Watch) चुनाव चिन्हबाट विजयी भइन् भने आरोग्य तिम्सिना समेत विजयी घोषित भएका छन्।
त्यसैगरी विद्यालय भाइस क्याप्टेन पदका लागि ५ जना विद्यार्थी चुनावी मैदानमा उत्रिएका थिए।
कक्षा ९ मा अध्ययनरत छात्र प्रनिस कुँवरले केतली (Kettle) चुनाव चिन्हबाट तथा कक्षा ९ कै छात्रा सासिमा बस्नेतले बन्दुक (Gun) चुनाव चिन्हबाट समान मत प्राप्त गर्दै संयुक्त रूपमा विजय हासिल गरेका छन्।
विद्यालय प्रशासनका अनुसार सम्पूर्ण निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित ढंगले सम्पन्न भएको थियो। विद्यार्थीहरूले मतदानमार्फत आफ्ना प्रतिनिधि चयन गर्दा विद्यालय परिसर नै लोकतान्त्रिक अभ्यासको नमुना बनेको देखिएको थियो।
विद्यालयले यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य भावना तथा जिम्मेवारी वहन गर्ने संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।














