झापा । जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार भएका लागूऔषध मुद्दाका प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मोरङको विराटनगर–६ स्थायी घर भई हाल झापाको दमक नगरपालिका–८ बस्दै आएका ३५ वर्षीय भोला भन्ने भगवान लाल रायलाई पक्राउ गरिएको हो ।
रायलाई गत २०८२ साल भदौ १९ गते कमल गाउँपालिका–५ पाँडाजुगी क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । प्रहरीले प्लाष्टिक बाहेक ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । पक्राउपछि सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।
तर, २०८२ साल भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट उनी फरार भएका थिए । फरार प्रतिवादीको खोजतलास तीव्र बनाएको प्रहरीले अन्ततः २०८३ साल जेठ १२ गते राति करिब ८ः४० बजे दमक नगरपालिका–६ पूर्व बसपार्क क्षेत्रबाट उनलाई पुनः नियन्त्रणमा लिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














