बिर्तामोड, १६ जेठ, २०८३ ,१९ औं गणतन्त्र दिवसको अवसर पारेर वीरता जेसीजको आयोजनामा झापाको बिर्तामोडस्थित टावर टेम्पल स्कुलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
युवाहरूमा नेतृत्व, अभिव्यक्ति कला तथा राष्ट्रिय चेतनाको विकास गर्ने उद्देश्यले ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था: उपलब्धि र चुनौती’ विषयक प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा बिर्तामोड नगर क्षेत्रका संस्थागत तथा सामुदायिक गरी करिब २३ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
तीव्र प्रतिस्पर्धाका बीच प्रतियोगितामा इन्भेन्चर विद्यालयकी छात्रा प्रश्ना प्रसाई प्रथम हुन सफल भइन् ।
त्यसैगरी एभरेष्ट विद्यालयकी आरुशी शिवाकोटी द्वितीय, कञ्चनजंघा विद्यालयकी तिलश्मी न्यौपाने तृतीय तथा न्यूटन्स स्कुलकी किन्जन पोखरेलले सान्त्वना स्थान हासिल गरेकी छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः नगद रु. ५ हजार, रु. ३ हजार र रु. २ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै, सान्त्वना पुरस्कार स्वरूप नगद रु. १ हजारसहित प्रमाणपत्र प्रदान गरिनुका साथै सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी देवु बानियाँ र राधिका ओली रहेका थिए ।
बिर्तामोड नगरपालिकाका नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष पाठक, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, र वीरता जेसीजका पूर्व अध्यक्ष सिनेटर घनश्याम चौधरीलगायतले मन्तव्य राखेका थिए ।
वक्ताहरूले गणतन्त्र दिवसको अवसरमा युवाहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व, आत्मविश्वास तथा राष्ट्रिय चेतना विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रम व्यवस्थापन संयोजक जेसी विजय लिम्बुका अनुसार उक्त प्रतियोगिता बिर्तामोड नगर शिक्षा शाखा र बिर्तामोड नगर प्याब्सनको संयोजन, नेको इन्सुरेन्स लिमिटेडको इन्सुरेन्स पार्टनरसिप तथा धौला इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, छठ समाज सेवा समितिका महासचिव अशोक चौधरीका साथै विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रभास थापा मगरले राखेका थिए भने जेसी आस्था वाचन अजयकुमार चौधरीले गरेका थिए ।
कार्यक्रमको सञ्चालन तालिम आयुक्त बिज्ञाराज पौडेल र वीरता जुनियर जेसीजकी महासचिव जुजेसी बिनिता आचार्यले संयुक्त रूपमा गरेका थिए ।














