बिर्तामोड, झापा । उत्कृष्ट सुन्दरीहरूको खोजी गर्ने उद्देश्यका साथ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'मिस नेपाल २०२६' को देशव्यापी छनोट अभियान अन्तर्गत झापाको बिर्तामोडमा दोस्रो क्षेत्रीय अडिसन भव्यताका साथ सम्पन्न भएको छ।

द हिडन ट्रेजरको आयोजना तथा स्थानीय संयोजक सुनिता तामाङको समन्वयमा बिहीबार बिर्तामोडस्थित होटल सिद्धार्थमा उक्त अडिसन सम्पन्न भएको हो।

नेपालगञ्जमा पहिलो अडिसन सकेर झापा आइपुगेको मिस नेपालको टोलीले आज (शुक्रबार) सुनसरीको इटहरीमा तेस्रो अडिसन सञ्चालन गरिरहेको छ।

आयोजकका अनुसार मोफसलका प्रमुख सहरहरू बुटवल, पोखरा र जनकपुरमा क्रमैसँग अडिसनहरू आयोजना गरिनेछ भने काठमाडौंका १० वटा कलेजहरूमा विशेष 'मिस नेपाल एक्टिभेसन' अभियान समेत चलाइनेछ।

विभिन्न सहरमा अडिसनको प्रक्रिया सुरु भइसके तापनि इच्छुक प्रतियोगीहरूका लागि जेठ २५ गतेसम्म आवेदन दिने म्याद खुला राखिएको आयोजकले जनाएको छ।


देशभर र विदेशबाट संकलन भएका आवेदनहरूमध्ये अन्तिम अडिसन भने आगामी जेठ २६ गते काठमाडौंमा सञ्चालन हुनेछ।


यस पटक प्रतियोगितामा सहभागी हुन इच्छुक सुन्दरीहरूको उमेर १८ देखि २७ वर्षबीच र न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्ने प्रावधान तोकिएको छ।

आवेदकहरूका लागि नेपाली नागरिकता अनिवार्य गरिएको छ भने विदेशमा रहेका नेपाली युवतीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन (NRN) कार्डका आधारमा निःशुल्क आवेदन दिन सक्नेछन्।


विभिन्न चरणका अडिसनहरूबाट छनोट भई आउने उत्कृष्ट प्रतिस्पर्धीहरूलाई ग्रान्ड फिनालेअघि विशेष प्रशिक्षण तथा व्यक्तित्व विकास (ग्रुमिङ) को कक्षामा सहभागी गराइनेछ।

यो वर्षको 'मिस नेपाल २०२६' को महासंग्राम अर्थात् ग्रान्ड फिनाले आगामी श्रावण १६ गते शनिबार ललितपुरको पुल्चोकस्थित 'द प्लाजा' मा आयोजना हुने तय भइसकेको छ।