झापा, १५ जेठ । झापाका विभिन्न स्थानमा शुक्रबार साँझ भएका छुट्टाछुट्टै घटनामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् भने सवारी दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

अर्कोतर्फ धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।

मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल जमिनमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरका एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

साँझ करिब ५ः३० बजे स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएको जनाएको छ। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

यता, केही दिनअघि मेचीनगर–१२ सयरडाँगी चोकस्थित मेची राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

गत जेठ ११ गते चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मेचीनगर–१३ निवासी ४४ वर्षीय निमा तामाङ गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो।

प्रारम्भिक उपचारपछि बिर्तासिटी अस्पतालमा भर्ना गरिएका तामाङ आर्थिक अभावका कारण डिस्चार्ज भएर मेची आम्दा अस्पताल धुलाबारीमा उपचाररत थिए। शुक्रबार उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ का २३ वर्षीय नारायण भट्टराईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी, कन्काई नगरपालिका–५ चप्रामारीमा पुरानो रिसइबीका कारण एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ।

साँझ करिब ६ः१० बजे बाटोमा हिँडिरहेका बाह्रदशी गाउँपालिका–७ निवासी ३० वर्षीय सूर्यलाल राजवंशीमाथि कन्काई–५ तुलसीबारीका २५ वर्षीय दीपक बिष्टले दाउ प्रहार गरेको प्रहरीले जनाएको छ।

टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका राजवंशीलाई तत्काल कन्काई नगर अस्पताल सुरुङ्गामा उपचार गराइएको थियो।


अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको छ।

झापामा एकैदिन भएका यी तीन घटनाले सुरक्षा चुनौती र आपराधिक गतिविधिप्रति चिन्ता बढाएको छ। प्रहरीले सबै घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।