झापा, १८ जेठ । बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कूलले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि 'उद्घोषण तथा नेतृत्व विकास तालिम' औपचारिक रूपमा सुरु गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश सोझाको अध्यक्षतामा आयोजित एक विशेष समारोहका बीच तालिमको उद्घाटन गरिएको हो।
उक्त उद्घाटन कार्यक्रममा न्यूटन एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं र कञ्चनजङ्घा इङ्ग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल डा. केशवराज न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो।
उहाँहरूले तालिमको महत्वमाथि प्रकाश पार्दै सहभागी सबै शिक्षकहरूलाई सफलता प्राप्त गर्न र निरन्तर अगाडि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) बिर्तामोड समितिका सह-कोषाध्यक्ष दीपक चौलागाईं र सदस्य पुण्यप्रसाद उप्रेती लगायत स्थानीय शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विद्यालयका सञ्चालक सरोज पौडेलले कार्यक्रमको कुशल सञ्चालन गर्नुभएको थियो।
तालिममा ८ वटा फरक-फरक विद्यालयका २५ जनाभन्दा बढी शिक्षक-शिक्षिकाहरूको उत्साहजनक सहभागिता रहेको छ। यस तालिम अवधिभर शिक्षकहरूलाई नेतृत्व क्षमता वृद्धि, कुशल उद्घोषण कलाका साथै पछिल्लो समय प्रविधिको क्षेत्रमा भित्रिएको आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान समेत प्रदान गरिने विद्यालयले जनाएको छ।














