कनकाई, १९ जेठ । झापाको कनकाई नगरपालिकाले बर्सेनि हुने जमिन कटान र बस्ती डुबानको समस्या न्यूनीकरण गर्न नदी नियन्त्रण तथा तटबन्धन निर्माण कार्यलाई तीव्रता दिएको छ । नगर क्षेत्रभित्र रहेका मुख्य तथा सहायक नदीहरूले धार परिवर्तन गरी बस्तीमा क्षति पुर्याउने जोखिमलाई मध्यनजर गर्दै नगरका विभिन्न प्रभावित क्षेत्रमा धमाधम 'स्पोर' निर्माण भइरहेको छ ।
नगरपालिकाले यस वर्ष मुख्य नदी तथा खोलाहरूको नियन्त्रणका लागि कुल ८० लाख रुपैयाँ विनियोजन गरेको छ । जसअन्तर्गत भूमिगत जल सिँचाइ कार्यालयसँगको समन्वयमा कनकाई माई, विरिङ, सुरुङ्गा, बाघे र सन्का नदीहरूमा नियन्त्रणका कामहरू अघि बढाइएका छन् । हाल कनकाई माईको पूर्वी तटमा ढुङ्गा जाली भर्ने काम तीव्र गतिमा भइरहेको छ भने विरिङ नदीको वडा नम्बर १ र ८ क्षेत्रमा पनि स्पोर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेबेका अनुसार आगामी जेठ मसान्तभित्र यी नदीहरूमा ढुङ्गा भर्ने र स्पोर निर्माण गर्ने सम्पूर्ण काम सम्पन्न भइसक्ने छ ।
यस वर्ष कनकाई नदी क्षेत्रमा ढुङ्गाको तारजाली निर्माणका लागि मात्र ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस बाँध तथा स्पोर निर्माणले कनकाई सामुदायिक वन समूह क्षेत्रको कटान रोक्नुका साथै गाउँमा खोला पस्ने जोखिमलाई टार्ने छ ।
यस्तै, विरिङ नदीतर्फ कनकाई–८ मा १२ लाख र कनकाई–१ मा ८ लाख रुपैयाँ विनियोजन गरी विभिन्न ३ वटा खण्डमा १७२ मिटर लामो स्पोर निर्माण कार्य सम्पन्न हुन लागेको छ । बाँकी १० लाख रुपैयाँको लागतमा सन्का लगायतका अन्य साना खोलाहरूमा नियन्त्रणको काम भइरहेको छ ।
नगरपालिकाले टेण्डर प्रक्रियामार्फत जनताको तटबन्ध कार्यक्रम तथा खानेपानी आयोजनासँग समेत समन्वय गरी कुल एक करोड रुपैयाँ बराबरको नदी नियन्त्रणका योजनाहरू सञ्चालन गरिरहेको छ ।
वर्षायाम सुरु हुनु अगावै यी कामहरू सम्पन्न हुन लागेकाले यस वर्ष नगर क्षेत्रमा बाढी र कटानको जोखिम तथा क्षतिमा उल्लेख्य कमी आउने विश्वास लिइएको छ ।














