बिर्तामोड, झापा, जेठ २० गते।
विद्यार्थीहरूको नेतृत्व विकास, सहभागिता तथा व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कञ्चन इङ्ग्लिस स्कुल, बिर्तामोड–७, झापामा “कञ्चन बाल क्लब” गठन कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागितामार्फत नयाँ कार्यसमिति चयन गरिएको विद्यालय प्रशासनले जनाएको छ। नवगठित समितिको अध्यक्षमा ओज्वसी खनाल चयन भएकी छन्। त्यस्तै उपाध्यक्षमा रेनजल बाँस्कोटा र दिविशा चम्लागाई निर्वाचित भएका छन्।

यसैगरी सचिवमा सावित श्रेष्ठ, सहसचिवमा ससिमा बस्नेत तथा कोषाध्यक्षमा रोसिका खनाल चयन भएका छन्। उनीहरूसहित १३ सदस्यीय कार्यसमिति गठन गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवगठित बाल क्लबले विद्यालयमा शैक्षिक, सामाजिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै विद्यार्थीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

 जनहितमा जारी

विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकास तथा जिम्मेवार नागरिक निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

“सक्षम बालबालिका, समुन्नत समाज” भन्ने नारालाई आत्मसात् गर्दै गठन गरिएको कञ्चन बाल क्लबले विद्यालय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।