बिर्तामोड, झापा गणतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन हो, जहाँ मतदान गर्नु र आफ्नो प्रतिनिधि आफैँ छान्नु प्रत्येक नागरिकको कर्तव्य र अधिकार दुवै बन्दछ। यसै राष्ट्रिय अभ्यासलाई आत्मसात् गर्दै यहाँस्थित ईडन गार्डेन एजुकेशन फाउण्डेशनले विद्यार्थीहरू माझ ‘विद्यालय निर्वाचन सप्ताह’ सम्पन्न गरेको छ। विद्यालयले सिर्जना गरेको चुनावी वातावरण हेर्दा लाग्थ्यो, त्यहाँ कुनै ठुलै राष्ट्रिय स्तरको निर्वाचन भइरहेको छ।

यो विशेष तयारी कुनै राजनीतिक दलका लागि नभई विद्यालयको नयाँ ‘स्कुल क्याप्टेन’ र ‘सहायक क्याप्टेन’ छनौटका लागि गरिएको थियो।

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न विद्यार्थीहरू आफैँले निर्वाचनका सम्पूर्ण प्रक्रियाहरू पूरा गरेका थिए। निर्वाचन अवधिभर विद्यार्थीहरूले उम्मेदवार मनोनयन गर्ने, मनोनयन फिर्ता लिने, चुनावी प्रचारप्रसार गर्ने र मौन अवधिको पालना गर्ने जस्ता महत्वपूर्ण राष्ट्रिय निर्वाचनका चरणहरूको प्रत्यक्ष अनुभव बटुल्ने अवसर पाए।

निर्वाचनलाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विद्यालयका शिक्षक राजेश गजुरेल ‘निर्वाचन आयुक्त’ र दीपज्वल बास्कोटा ‘निर्वाचन अधिकृत’ रहेको निर्वाचन मण्डल गठन गरिएको थियो। मण्डलले ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्रको व्यवस्था गरेको थियो, जहाँ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले दुई चरणमा उत्साहपूर्वक मतदान गरे।

सुरुमा १२ जना विद्यार्थीको उम्मेदवारी परेको यस निर्वाचनमा अन्तिम समयमा २ जनाले मनोनयन फिर्ता लिएपछि १० जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए। कूल ३८८ मत खसेको यस निर्वाचनको मतपरिणाम यस प्रकार रह्यो:

स्कुल क्याप्टेन: 'पुतली' चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी भूमिका राजवंशीले १३९ मत प्राप्त गर्दै सानदार विजय हासिल गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी आश्रेया शंकरले ७५ मत प्राप्त गरिन्

सहायक क्याप्टेन: 'क्रिकेट ब्याट' चुनाव चिन्हका अमिज थापाले १०५ मत ल्याएर विजयी बने। यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी समिर शर्माले १०३ मत प्राप्त गर्दै कडा प्रतिस्पर्धाका बीच उप-विजेता बने।

निर्वाचनको नतिजा घोषणा लगत्तै विजेता उम्मेदवारहरूको सम्मानमा विद्यालय परिसरमा भव्य विजयी र्‍याली निकालिएको थियो। र्‍याली सहित विद्यालय परिसर परिक्रमा गराएर विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरियो। निर्वाचित कार्यसमितिको विधिवत् शपथ ग्रहण कार्यक्रम आगामी २२ गते हुने विद्यालयले जनाएको छ।

सामाजिक विषय अन्तर्गत 'निर्वाचन आयोग र निर्वाचन प्रक्रिया' जस्ता पाठहरू पाठ्यक्रममै समेटिएकाले यस किसिमको प्रयोगात्मक अभ्यास निकै प्रभावकारी हुने विद्यालयका संयोजक गीताराम आचार्य बताउँछन्।

यस्तै, हरेक सिकाइलाई सिद्धान्तमा मात्र सीमित नराखेर प्रयोगसँग जोड्न सके त्यो दीर्घकालीन हुने धारणा सहायक प्रधानाध्यापक खेमराज शर्माको छ। विद्यार्थीहरूलाई 'गर्दै सिक्ने' (Learning by Doing) अनुकूल वातावरण बनाउन विद्यालय सधैँ लागिपरेको उनले प्रस्ट पारे।

यो निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व विकास मात्र नभई भोलिका सचेत नागरिक बन्ने जग समेत बसालेको विद्यालयको ठहर छ।