रोटरी क्लब अफ सुरुङ्गाले यस वर्षको ‘स्वर्गीय हेमकला तथा टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट अग्रज पत्रकार लिलाराज झापालीलाई पुरस्कृत गरेको छ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा बिहीबार झापा गाउँपालिका–७ स्थित रानीवन सामुदायिक वनको हाताभित्र आयोजित एक विशेष समारोहका बीच झापालीलाई नगद १५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो।

रोटरी क्लब अफ सुरुङ्गाका सचिव एवं पत्रकार रामप्रसाद निरौला र उनकी धर्मपत्नी शान्ता निरौलाले आफ्ना मातापिता टिकाराम र हेमकला निरौलाको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्। पुरस्कृत व्यक्तित्व झापाली गोरखापत्र दैनिकका झापा समाचारदाता, कन्काई साप्ताहिक तथा अनलाइनका सम्पादक र प्रेस क्लब सुरुङ्गाका अध्यक्ष हुन्।

c61f9344-12a0-4262-993e-bf0c7f7f0acbझापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता तथा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष डिल्ली मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो। प्रमुख अतिथि थपलिया, क्लबका अध्यक्ष मैनाली, संस्थापक अध्यक्ष एलपी उप्रेती र पुरस्कारदाता रामप्रसाद निरौला लगायतले झापालीलाई सम्मान गरेका थिए।

कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक एवं क्लबका पूर्वअध्यक्ष हेम प्रसाईले सम्मानित व्यक्तित्व झापालीको सम्मानपत्र वाचन गरेका थिए। उनले ग्रामीण पत्रकारिता, सामाजिक रूपान्तरण र महिला सशक्तिकरणको क्षेत्रमा झापालीले पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको बताए।

8a7cd9ab-fe92-4064-a45c-2a912bc18662

पुरस्कारदाता पत्रकार रामप्रसाद निरौलाले बुबाआमाको स्मृतिलाई सदैव जीवन्त राख्न र समाज रूपान्तरणमा योगदान पुर्‍याउने पत्रकारहरूलाई प्रोत्साहन गर्न सो पुरस्कार स्थापना गरिएको बताए। विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशील निरौला कन्काई खबर साप्ताहिकका सम्पादक/प्रकाशक तथा कन्काई सुरुङ्गा प्रेस क्लबका निवर्तमान अध्यक्ष समेत हुन्। उनले यो पुरस्कार २०७९ सालमा स्थापना गरेका थिए।


8642fe5f-cef4-40e0-9bf5-ebb78bb30601यस पुरस्कारबाट यसअघि पत्रकारहरू मोहनकाजी न्यौपाने, तीर्थराज खरेल, रेजिना गौतम र दिपिन राई सम्मानित भइसकेका छन्।


विश्व वातावरण दिवसको अवसर पारेर रोटरी क्लब अफ सुरुङ्गाले रानीवन सामुदायिक वन उपभोक्ता समितिलाई ५० वटा टिक प्रजातिका बिरुवा समेत हस्तान्तरण गरेको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थपलियाले बिरुवा रोपेर गरेकी थिइन्।

पुरस्कृत भएपछि आफ्नो अनुभूति मन्तव्य राख्दै पत्रकार लिलाराज झापालीले यस सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा थप जिम्मेवार र क्रियाशील बन्न प्रेरणा मिलेको बताए।

कार्यक्रममा प्रमुख अतिथि अन्जुदेवी थपलिया, शिक्षक महासङ्घ झापाका जगन्नाथ राजवंशी, रानी सामुदायिक वनका अध्यक्ष मदन भण्डारी, र झापा गाउँपालिका–७ का वडाध्यक्ष सखीचन्द्र ठाकुर लगायतले शुभकामना मन्तव्य राखेका थिए। रोटरीका पूर्वअध्यक्ष एलपी उप्रेतीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद निरौलाले गरेका थिए।