बिर्तामोड, २४ जेठ : बिर्तामोड नगरपालिकामा सिकाइ उपलब्धि सुधार अभियान अन्तर्गत शैक्षिक सत्र २०८३ का लागि कार्ययोजना र प्रतिबद्धतामा हस्ताक्षर भएको छ ।


शिक्षा शाखाले आज आयोजना गरेको सिकाइ उपलब्धि सुधार अभियान २०८२ को प्रगति समीक्षा कार्यक्रमका बीच नयाँ प्रतिबद्धतामा नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी लगायत सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षकहरूले हस्ताक्षर गरेका छन् ।


WhatsApp Image 2026-06-07 at 8.40.31 PM

हस्ताक्षर गरिएको प्रतिबद्धतामा सिकाइ सुधार अभियान २०८१ का २१ बुँदे र २०८२ मा थप गरिएका ५ बुँदे प्रतिबद्धतालाई समान महत्व दिई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, विद्यालयले विद्यार्थीको कक्षागत रूपमा हासिल गर्नुपर्ने न्यूनतम सिकाइ उपलब्धिको परीक्षण र विश्लेषण गर्ने, न्यूनतम सिकाइ नभएका विद्यार्थीहरू पहिचान गरी योजनाबद्ध रूपमा निर्माणात्मक तथा उपचारात्मक शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, नगरभित्र सञ्चालित विद्यालयहरूको निश्चित कक्षाका विभिन्न विषयहरूको सिकाइ उपलब्धि परीक्षण विज्ञहरूबाट गराई कमजोर सिकाइ उपलब्धि देखिएका विद्यालयहरूको सिकाइ सुधारमा नगरस्तरीय विषयगत समिति मार्फत सहजीकरण गर्ने, जसका लागि नगरपालिकाले विद्यार्थीको न्यूनतम सिकाइ स्तर पहिचान गर्न सिकाइ उपलब्धि परीक्षा सञ्चालन गर्ने र सोको आधारमा नतिजा विश्लेषण गरी विद्यालयहरूसँग अन्तरक्रिया तथा सिकाइ सुधारका लागि थप योजना निर्माण गर्ने, साथै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग भएका कार्यसम्पादन करार सम्झौताका आधारमा प्रधानाध्यापकले शिक्षकहरूसँग समेत करार सम्झौता गराई विद्यालयमा त्रैमासिक समीक्षा र नगरमा वार्षिक समीक्षा गरी शैक्षिक गुणस्तर सुधारमा जोड दिने उल्लेख छ ।

WhatsApp Image 2026-06-07 at 8.40.32 PM

कार्यक्रममा उत्कृष्ट सिकाइ असल अभ्यासका विषयमा विद्यालयगत प्रस्तुतिसमेत भएको छ । प्रस्तुति राख्ने विद्यालयहरूमा लक्ष्मी नारायण आधारभूत विद्यालय बिर्तामोड १०, दुर्गा माध्यमिक विद्यालय बिर्तामोड ९, बाल्मिकी एजुकेशन फाउन्डेसन बिर्तामोड १, मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड २ रहेका छन् ।


कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले विभिन्न आवश्यकता र समस्याका बीच पनि विद्यालयको गुणस्तर सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । हस्ताक्षर गरिएको कार्ययोजना र प्रतिबद्धता अक्षरशः पालना गर्नुपर्नेमा उहाँको जोड थियो । नगर प्रमुख प्रसाईले संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसासमेत गर्नुभयो ।


कार्यक्रममा नगर शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेल, नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।